कार्तिक २७, २०८३
ताप्लेजुङ — दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश स्तरीय क्रिकेट छनौटमा ताप्लेजुङले पहिलो प्रतिष्पर्धा इलामसँग गर्ने भएको छ ।
कोशी प्रदेशको राजधानी विराटनगर स्थित मेलिवोन ज्वाला क्रिकेट खेलमैदानमा शनिबार दिउसो १ बजेदेखि ताप्लेजुङ र इलामबीच खेल हुनेछ ।
प्रतियोगिताका लागि ताप्लेजुङबाट टीम क्याप्टेन रविन श्रेष्ठको नेतृत्वमा विपुल साँवा, बालकुमार तुम्बाहाम्फे, सरोज लिम्बू, सापोहाङ तुम्बाहाम्फे, विशाल तुम्बाहाम्फे, धनराज साँवा, समीप तुम्बाहाम्फे, बुद्धिबहादुर विके, राजकुमार मादेन, आकाश उप्रेती, ग्यानु गिरि, युशन थापा, प्रवेश खतिवडा रहेका छन् ।
टिममा मेरिङदेन गाउँपालिका ६ नाल्बुका राज सामेखाम पान्दोलुङ माविका शिक्षक टिम प्रशिक्षक कोच र नाल्बुकै नवीन तुम्बाहाम्फे टिम व्यवस्थापक रहेका छन् ।
प्रदेशस्तरीय प्रतियोगिताका लागि ताप्लेजुङले पहिलो पटक टीम बनाएको हो ।

