कार्तिक २३, २०८३
ताप्लेजुङ – उज्यालोको रात भनेर चिनिने लक्ष्मी पूजाको रात ताप्लेजुङमा तीन मेगावाटको हाराहारीमा विद्युत खपत भएको छ ।
नेपाल विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका प्रमुख उमेश श्रेष्ठका अनुसार सदरमुकाम फुङलिङ नगरपालिका सहितका मैवाखोला, आठराईत्रिबेणी, मेरिङदेन, मिक्वाखोला, फक्ताङलुङ र पाथीभरा याङवरक गाउँपालिकामा २ दशमलव ८५ मेगावाट विद्युत खपत भएको छ ।
यस्तै, सिदिङवा र सिरिजङ्गा गाउँपालिकामा ४ सय किलोवाट विद्युत खपत भएको छ । लक्ष्मी पूजाको रात अलिकतापनि विद्युत् आपूर्तिमा समस्या नभएको श्रेष्ठले बताएका छन् ।
तिहारको पूर्व सन्ध्यामा अधिकांश फिडरमा बुस कटिङको काम गरिएको थियो । रुखका हाँगाबिँगाका कारण विद्युत् परिपथमा समस्या आउन नदिन बुस कटिङ गरिएको थियो ।
तिहार, लक्ष्मी पूजाको समयमा जिल्लामा सञ्चालित हाइड्रोपावर निर्माणको काम बन्द भएकालेपनि तीन मेगावाट मात्रै विद्युत खपत भएको कार्यालयले जनाएको छ ।
