ताप्लेजुङ — दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता छनौट चलिरहँदा ताप्लेजुङले पहिलो पटक क्रिकेट टिम बनाएको छ । टिममा मेरिङदेन गाउँपालिका-६ नाल्बुका राज सामेखाम (पान्दोलुङ माविका शिक्षक) टिम प्रशिक्षक (कोच) नाल्बुकै नविन तुम्बाहाम्फे टिम व्यवस्थापक र फुङलिङ नगरपालिकाका रविन श्रेष्ठ क्याप्टेन रहेका छन् ।
प्रदेशस्तरीय प्रतियोगिताका लागि १८ सदस्यीय टोली बिहीबार विराटनगर गएको जिल्ला खेलकुद विकास समितिका अधिकृत यज्ञनिधि पौडेलले जानकारी दिए । खेलकुद विकास समितिका उपाध्यक्ष अन्जना कडरियाका अनुसार यो जिल्लामै पहिलो पटक बनेको टिम हो र अन्य जिल्लासँगको प्रतिस्पर्धामा पहिलो पटक सहभागी हुन लागेको हो । ‘हाम्रा लागि दशौं राष्ट्रिय खेलकुद राम्रै बन्यो, देश विदेशमा चर्चित प्रतियोगिताका लागि टिम बनाउन सक्यौं,’ अन्जनाले भनिन् । पौडेलका अनुसार कोच राजले टिम बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे र अधिकांस खेलाडी ग्रामीण भेगका छन् ।
जिल्ला खेलकुद विकास समितिले बिहीबार उनीहरूलाई बिदाइ गरेको छ ।
कोशी प्रदेशको राजधानी विराटनगर मेलिवोन ज्वाला क्रिकेट खेलमैदानमा शुक्रबारदेखि प्रतियोगिता हुनेछ । प्रदेशबाट छनौट भएका खेलाडीले कर्णाली प्रदेशमा हुने प्रतियोगितामा सहभागिता जनाउने छन् । टिमले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको खेलकुद विकास समितिले जनाएको छ ।
