कार्तिक २९, २०८३
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कोशी प्रदेश छनोटअन्तर्गत पुरुष फुटबलतर्फ ताप्लेजुङको टोली पराजित भएको छ।
शनिबार धरानस्थित एन्फा एकेडेमीको खेलमैदानमा भएको खेलमा खोटाङसँग १–० गोल अन्तरले पराजित भएपछि ताप्लेजुङ प्रतियोगिताबाट बाहिरिएको हो।
टिम व्यवस्थापक सन्तोष गुरुङका अनुसार टोली भोलि नै जिल्ला फर्कने तयारीमा छ। प्रदेशका सबै जिल्लाको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ अन्तर्गत बाई परेको ताप्लेजुङलाई उदयपुरलाई पराजित गरेर आएको खोटाङले हराएको हो ।
प्रदेश छनोटको फाइनल खेल कार्तिक ३० गते बिहान ७:३० बजे हुने बताइएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समावेश गरी प्रदेशस्तरीय टोली निर्माण गरिनेछ। उक्त टोलीले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्नेछ।