२१ भाद्र २०८२, आइतबार

सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शनिबार, कार्तिक ०३, २०८१

काठमाडौं : पछिल्लो समय सुनको भाउ बढेको बढ्यै छ। सुनको भाउले नयाँ माथि नयाँ रेकर्ड बनाउँदै गएको छ। यो हप्ता मात्रै सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय पुगेको छ। सुनको भाउ २ लाखसम्म पुग्ने अन्तर्राष्ट्रिय बजारको आंकलन छ।  बिहीबार १ लाख ६२ हजार ४ सय रहेको सुन शुक्रबार प्रतितोला २ हजारले बढेको हो।

दसैंपछि खुलेको बजारमा सुन प्रतितोला १ लाख ६० हजार ५ सय थियो। एक सातामै सुन प्रतितोला ३ हजार ९ सयले बढेको छ। दसैंअघि असोज २३ गते सुन १ लाख ५९ हजार १ सय थियो। चाँदी भने प्रतितोला १ हजार ९ सय ८० रहेको छ। अन्य धेरै कारणसँगै अमेरिका र युरोपका राष्ट्रिय बैंकहरूले ब्याजदर घटाउँदा त्यसको असर सुनमा देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले जानकारी दिए।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य अन्तर्राष्ट्रिय बजारमा नै सुनको माग बढ्दा भाउ बढेको बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआउन्स (२.६६ तोला) करिब २७ सय अमेरिकी डलर छ। सन् २०२७ सम्म ३ हजार प्रतिआउन्स पुग्ने अन्तर्राष्ट्रिय प्रक्षेपण सन् २०२५ मै पूरा हुने शाक्य बताउँछन्। आगामी ५–६ महिनाभित्र नेपालमा नै सुनको मूल्य प्रतितोला करिब २ लाख पुग्ने उनी बताउँछन्।

संसारभर नै अशान्ति भइरहेकाले ठूला लगानीकर्तालाई लगानीका बाटा धेरै नहुँदा सुनमा आकर्षण बढेको उनी बताउँछन्। ‘मान्छेले आफ्नो क्रयशक्ति बचाउन सुनमा लगानी गर्छन्। अन्तर्राष्ट्रिय बजारमा आर्थिक क्षेत्र डामाडोल भइरहेको अवस्थामा लगानीको क्षेत्र नहुँदा सुनमा लगानी बढेको हो’, उनी भन्छन्। अन्तर्राष्ट्रिय सेयर बजार तल झर्नु, बन्ड तथा बैंकहरूमा ब्याजदर घटाउँदा, डलरको उतारचढाव, पेट्रोलियममा पनि लगानी नगर्नु लगायतका कारणहरूले पनि सुनको माग बढाएको शाक्य सुनाउँछन्।

मध्यपूर्वी एसियामा भइरहेको द्वन्द्व सुनको मूल्यवृद्धिको कारण बनिरहेको छ। इजरायल र हमासबीच जारी द्वन्द्व, लेबनानसँग पनि द्वन्द्व छेडेको र इरानलगायतका देशहरूले पनि के गर्छन् भन्ने अन्योलको स्थिति रहेको हुँदा सुरक्षित लगानीको रूपमा सुनलाई लिइएको शाक्यको विश्लेषण छ ।

अमेरिकी मुद्राको उचारचढावले पनि सुनमा लगानी बढाएको महासंघ अध्यक्ष रसाइली बताउँछन्। ‘करिब ५८ देशहरूले आर्थिक कमिटी गठन गरेर, उनीहरूले आफ्नै मुद्रा बनाउने र अमेरिकी मुद्राको प्रचलन घटाउने भनेर लागेका छन्,’ उनले भने। छिमेकी राष्ट्रहरू चीन, भारत तथा रसियाले धेरै मात्रामा सुनको खरिद गरी सञ्चिति बढाउँदा पनि सुनको भाउ बढेको उनको भनाइ छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा आन्तरिक बजारमा मागमा संकुचन आएको अध्यक्ष रसाइलीले बताए। उनका अनुसार प्रतिदिन करिब ४० किलोको सुनको बजार अहिले करिब १२–१५ किलोमा सीमित भएको छ। गत वर्षको चाडपर्व र अहिले चाडपर्वमा सुनको खपत घटेको उनी बताउँछन्। ‘कारोबार बराबर देखिएको छ किनभने सुनको भाउ बढेको छ। तर, नयाँ सुनभन्दा पनि पुरानै सुनलाई बनाउने र विदेशबाट आउँदा ल्याउने २६ ग्राम र ५० ग्रामको सुनबाट नै गहना बनाउने चलन बढेको छ,’ रसाइलीले भने। खपत घट्नुको कारणमा सुन आयातमा लाग्ने भन्सार दर पनि मानिएको छ। भारतमा सुन आयातमा ६ प्रतिशत लाग्ने भन्सार दर नेपालमा २० प्रतिशत छ। यसले गर्दा सिमाना जोडिएका स्थानमा भारतमा नै गएर सुन तथा गहना किन्ने प्रचलन बढेको रसाइली सुनाउँछन्।

केन्द्रीय बैंकले २० किलोको कोटा दिएको छ तर अहिले त्यति पनि खपत हुन नसेकेको देखिन्छ। महासंघले भने कोटा वृद्धि गरी ३० किलो बनाउन माग गरेको छ। सरकारसँग भन्सार दर घटाउन माग गरिरहेकाले दर घटेपछि नेपालमा नै सुन सस्तो हुन्छ र यसले खपत बढाउने हुँदा कोटा बढाउन जरुरी रहेको अध्यक्ष रसाइलीको भनाइ छ।

सुनिता कार्किले लेखेको समाचार अन्नपुर्ण अनलाईनवाट साभार गरिएको हो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!