

- ताप्लेजुङ गोल्डकपको फाइनल शनिबार हुँदैछ।
- सलहेस युवा क्लब र चचर् ब्वाइज क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।
- विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार पुरस्कार राशि पाउनेछन्।
ताप्लेजुङ — हरेक आर्थिक वर्षको पहिलो ठूलो फुटबल प्रतियोगिता सम्भवत ताप्लेजुङबाट सुरु हुन्छ । फुटबलका जानकारले यसलाई सिजन सुरु भएको रूपमा ब्याख्या गर्छन् । सदरमुकाम फुङलिङस्थित भानुजन माविको मैदानमा खेलाइने यो प्रतियोगिताको फाइनल शनिबार हुँदै छ । उपाधि होडमा गत वर्षको उपविजेता सलहेस युवा क्लब सिरहा र चचर् ब्वाइज क्लब ललितपुर छन् ।
विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार पुरस्कार राशि पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले यामाहाको मोटरसाइकल पाउँछन् ।
अघिल्लो वर्षको बदला लिने उद्देश्यसहित चार विदेशी खेलाडी सलहेस आएको छ । गत वर्षको कमजोरी सच्याएर खेल्ने र उपाधि लगेरै छोड्ने दाबी टोलीको छ । सलहेसका प्रशिक्षक राजेशकुमार यादवले भने, ‘हामीले १९ वटा मोफसलका प्रतियोगिता खेल्दा तीन पटक चर्च ब्वाइजसँग भेटेका छौं । सिमरा गोल्डकपमा पहिलो भेट भयो, हामीले हरायौं । भोजपुर र झापामा हामी पराजित भयौं । तीनवटै खेलमा १–० को मात्रै नतिजा निस्कियो ।’ उनले थपे, ‘यतिबला खेलाडी अभाव हुँदाहुँदै पनि खोजेर राम्रा खेलाडी ल्याएका छौं । गत वर्ष एउटा स्टेपमा चुक्यौं । सुरुमै गोल खायौं । तर यस वर्ष समूह जितेर आएको र लगातार फाइनल पुगेकाले उच्च मनोबलका साथ खेल्छौं र उपाधि जित्छौं ।’
नेपालमा उपलब्ध राम्रा विदेसी खेलाडीलाई एक महिनाअघि नै अनुबन्ध गरेको उनले बताए ।
चर्च ब्वाइजका प्रशिक्षक रोशन शाह ठकुरीले पनि ललितपुरबाट उपाधि जित्नकै लागि ताप्लेजुङ आएको र जितेर फर्कने दाबी गरे । ‘हामीसँग टिमवर्क छ । उहाँहरूको टेक्निकल कुरा हेर्छौं । टफ टिम भएकाले नै फाइनल पुगेका हौं । हामीसँग विदेशी खेलाडी नभए पनि उहाँहरूसँग पहिल्यै खेलिसकेकाले डर छैन ।’
सलहेसका कप्तान रेम्बो चौधरीले सिनियर विदेशी खेलाडी उनीहरूसँग युरोपमा खेलेको अनुभव रहेको त्यो हाम्रा लागि उपयोगी हुने बताए । ‘उत्कृष्ट खेल हुन्छ । टिमवर्क राम्रो गरिरहेका छौं । एक गोल पनि नखाई यहाँसम्म पुगेका छौं । विदेसीसँग टिमवर्क जमेको छ,’ चौधरीले भने । रेम्बो पहिला चर्च ब्वाइजकै खेलाडी थिए ।
सलहेसले भने फाइनलमा एक विदेशी खेलाडी सोदिया अआदमलाई गुमाउँदै छ । उनले दुई पहेँलो कार्ड पाइसकेकाले फाइनल खेल्न पाउने छैनन् । प्रशिक्षक राजेश कुमार उनको ठाउँमा अर्को राम्रो खेलाडी भित्र्याउने बताउँछन् ।
सलहेसले यसअघि रेडस्टार क्लब झापालाई २–० र पाँचथरको फिदिमलाई ६–० गोलले पराजित गर्दै र द योङ ब्रदर्स क्लब इटहरीलाई टाइब्रेकरमा ३–१ र लिजेन्ड फुटबल एकेडेमी सिलिगुढीलाई १–० गोलले पराजीत गर्दै फाइनल पुगेको हो ।
फाइनल ९ हजार ५ सयले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । फाइनल खेलको टिकटदर दुई सय ५० रुपैयाँ तोकिएको छ । सर्बोत्कृष्ट खेलाडी छनोटका लागि निवर्तमान अध्यक्ष देवराज गुरुङको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको छ । यस वर्षको प्रतियोगितामा आठ टिमको सहभागिता छ ।
आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले यस वर्ष पुरस्कार राशि २ लाख वढाएको र खेलाडीको पारिश्रमिक पनि बढाएको वताए । गत वर्ष विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाएका थिए । खेलाडीको दैनिक पारिश्रमिक पनि बढाइएको उनले वताए । फाइनलमा पुगेका दुवै टिमका कप्तान र खेलाडीले राम्रो ब्यवस्थापन रहेको भन्दै आयोजकको प्रशंसा गरेका छन् ।