

ताप्लेजुङ — पहिलो पटक पूर्वी नेपालको ताप्लेजुङ पुगेको पश्चिम नेपालको सहारा क्लब पोखरा पहिलो खेलबाटै घर फर्किएको छ ।
आइतबार रेडस्टार क्लब झापासँगको खेलमा सहारा क्लब पोखरा २–० गोलले पराजित भएको हो ।
पश्चिमको सहारा र पूर्वको झापा ताप्लेजुङ गोल्डकपको दोस्रो दिनको खेलमा आमनेसामने भएका थिए । आइको दुवै गोल रेडस्टारका सविनकुमार लुंगेलीले गरे । एक मिनेट अगाडि मात्रै मैदान प्रवेश गरेका रेडस्टारका रोशन ठकुरीले डि बक्सभित्र निकालीदिएको पासलाई दोस्रो हाफको ७६ औं मिनेटमा गोल गर्दै लुंगेलीले खाता खोलेका थिए । सहाराका खेलाडीले लुंगेलिलाई नै फल्ट गरेपछि रेडस्टारले पेनल्टी पाएको थियो ।
पेनल्टी पनि लुंगेलीले हाने र आफ्नो टिमलाई सेमिफाइनल प्रवेश गराए । आइतबारको म्यान अफ द म्याच पनि उनै लुंगेली नै भए । भोलिको खेल लिजेन्ड फुटबल एकेडेमी सिलिगुडी भारत र चर्चब्वाइज क्लब ललितपुरबीच हुने छ । शनिबारको उद्घाटन खेलबाट आयोजक ताप्लेजुङलाई २–१ गोलले पराजित गर्दै द योङ ब्रदर्स क्लब इटहरी सुनसरीले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
आठ टिमको सहभागिता रहेको प्रतियोगिताका उपाधि विजेताले सात लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार दुई सय ८२ रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरबाइक पुरस्कार राखिएको छ । फाइनल खेल साउन ३१ गते हुनेछ ।