

ताप्लेजुङ — आयोजक ताप्लेजुङको तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै द योङ स्पोर्टिङ क्लब इटहरी ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयोजकको तर्फबाट दुईजना विदेशी र चारजना राष्ट्रिय खेलाडीसमेत उतारेको तेल्लोक उद्घाटन खेलबाटै बाहिरिएको हो । शनिबार भएको उद्घाटन खेलमा आयोजकको तर्फबाट तेल्लोक स्पोर्टिङ क्लबका सञ्जय श्रेष्ठले पहिलो हाफको २६ औं मिनेटमा पहिलो गोलको खाता खोलेर घरेलु मैदानका दर्शकलाई उत्साही बनाएका थिए । तर दोस्रो हाफको ७० औं मिनेटमा इटहरीका निरज खड्काले पहिलो गोल फर्काए र खेललाई बराबरीमा ल्याए । ७४ औं मिनेटमा इटहरीका योगेन राईले आफ्नो टिमको तर्फबाट दोस्रो गोल गरे । यो इटहरीका लागि निर्णायक गोल बन्यो । उनले गरेको यो गोल सेमिफाइनल प्रवेशका लागि काफी बन्यो ।
पहिलो दिनको म्यान अफ दी म्याच इटहरीका निरज खड्का भए र आयोजकबाट सात हजार रुपैयाँ प्राप्त गरे ।
उद्घाटन खेल पाँच हजार दर्शकले अवलोकन गरेको आयोजकको दाबी छ । आइतबारको खेल सहारा क्लब पोखरा र रेडस्टार क्लब झापाबीच हुनेछ । दुवै टिम ताप्लेजुङ आइपुगेको आयोजकले बताएका छन् ।
आठ टिम सहभागी रहेको प्रतियोगिताको उपाधि विजेताले सात लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार दुई सय ८२ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।