

ताप्लेजुङ – कावेली नदीबाट थप २१.९३ मेगावाट विद्युत उत्पादन भएको छ । काबेली हाइड्रोपावर कम्पनी लिमिटेड द्वारा प्रवर्द्धित काबेली–३ क्यास्केड जलविद्युत् आयोजनाले मङ्गलबार देखि परिक्षण उत्पादन सुरु गरेको हो । सिरिजङ्गा गाउँपालिका ५, पेदाङ ६ खेवाङ र ७ मामाङखे प्रभावित क्षेत्रको रुपमा रहेको छ ।
२०७९ माघ ५ गते सुरु भई २०८२ साउन २० गते निर्माण सम्पन्न भई परीक्षण उत्पादन सुरु गरिएको आयोजनाका सूचना अधिकारी मेघनाथ ढुङ्गानाले जानकारी दिए । ढुङ्गानाका अनुसार यसको लागत चार अर्ब २८ करोड ५० लाख रहेको छ। कम्पनीको २५ र एनएमबी बैक लिमिटेडको नेतृत्वमा प्रभु बैक लिमिटेड तथा नबिल बैक लिमिटेडबाट ७५ प्रतिशत ऋण लगानी रहेको ढुङ्गानाले जानकारी दिए ।
वडा नम्बर ७ खेवाङको ओथाममा इन्टेक, वडा नम्बर ५ पेदाङमा पावर हाउस रहेको यसको लम्बाइ पाच जार एक सय ४० मिटर रहेको छ । उत्पादित विद्युत् पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका १, अमरपुरमा रहेको १३२ केभिए मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।