
ताप्लेजुङ – सातौँ खेवाङ गोल्डकप फुटबल प्रतियोगिता कार्तिक १० देखि १५ गतेसम्म हुने भएको छ । सिरिजङ्गा गाउँपालिका ६ खेवाङको मैदानमा प्रतियोगिता हुन लागेको हो ।
आयोजक खेवाङ स्पोर्टिङ क्लबले शुक्रबार फुङलिङ सदरमुकाममा पत्रकार सम्मलेन गर्दै प्रतियोगितामा आठ टिमको सहभागिता रहने जानकारी गराएको छ । क्लबका अध्यक्ष विनम माबोका अनुसार कोशी प्रदेशस्तरीय प्रतियोगितामा आयोजक सहित जिल्लाका ५ र बाहिरका ३ टिमको सहभागिता रहने छ । ताप्लेजुङका तेल्लोक स्पोर्टिङ क्लब, नैना कम्पनी प्रालि खेवाङ, लालीगुराँस स्पोर्टिङ क्लब सुरुमखिम र पेदाङ स्पोर्टिङ क्लब सहभागी हुनेछन् । जिल्ला बाहिरबाट नेपाल पुलिस क्लब कोशी प्रदेश विराटनगर, रेड स्टार फुटबल क्लब झापा र कुम्मायक गाउँपालिका पाँचथरको सहभागिता रहने छ ।
विजेताले एक लाख ५१ हजार र उपविजेताले एक लाख एक हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । विधागत पुरस्कारको पनि ब्यवस्था गरिएको माबोले बताए । बाहिर बाट आउने खेलाडीलाई आउने फर्कने यातायात खर्च र बस्ने खाने प्रबन्ध आयोजकले गर्ने माबोले बताए । प्रतियोगिता सम्पन्न गर्न करिव १५ लाख रुपियाँ खर्च हुने अनुमान आयोजकको छ । पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश), पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे, ताप्लेजुङ गोल्डकपका अध्यक्ष देवराज गुरुङ लगायतको सहभागिता रहेको थियो ।