

ताप्लेजुङ – इन्द्र केदेमले नेतृत्व गरेको हिमालय कन्स्ट्रक्सन र जितेन चेम्जोङ लिम्बूले नेतृत्व गरेको सेवालुङ निर्माण कम्पनीबीच केबलकार निर्माणका लागि साझेदारी हुने भएको छ । ताप्लेजुङका चर्चित दुई कम्पनीले भौतिक संरचना निर्माणमा साझेदारी गर्ने भएका हुन् ।
पाथीभरा (मुक्कुमलुङ) केबलकार निर्माण कम्पनीसँग हिमालय कन्ट्रक्सनका प्रोपाइटर केदेमले यसअघिनै लिखित सहमति गरेका छन् । श्रोतका अनुसार विहीवार बेलुका सेवालुङका जितेनस“ग निर्माण साझेदारीको विषयमा छलफल भएको थियो । ‘काम धेरै छ, के के काम गर्ने भनेर चाहिँ टुङ्ग्याउन बाँकी छ, हामीले मिलेर काम गर्ने हो,’ केदेमले भने, ‘हामी जिल्लाका धेरैजसोले रोजगारी पाउनेगरी वातावरण सृजना गरेर काम गर्ने गराउने वातावरण बनाउँछौं ।’
हिमालय कन्ट्रक्सनले केबलकार कम्पनीसँग ७४ करोडको कामको सम्झौता गरेको श्रोतले बताएको छ । यो लट्ठा, डिब्बा बाहेकको काम हो । यो काम सकिएपछि काफ्लेपार्टीमा बन्ने अन्य संरचनाको विषयमा कम्पनीले पुन सम्झौता गर्ने जनाइएको छ । दुई कम्पनिबिच समझदारी भएको जितेनलेपनि बताएका छन् ।