२७ आश्विन २०८३, बुधबार

प्रधानमन्त्रीको पहिलो बिदेश भ्रमण, एयरपोर्टमा तामझाम भएन, सेनाले सलामीपनि दिएन

Logo
Taplejung Press ताप्लेजुङ प्रेस मंगलबार, आश्विन ०५, २०८३

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ भाग लिन अमेरिका प्रस्थान गर्ने क्रममा पहिलेभन्दा फरक माहोल देखिएको छ । यसअघिका प्रधानमन्त्रीहरु विदेश जाँदा देखिने तामझाम आज देखिएन ।

शाहको यो पहिलो विदेश भ्रमण पनि हो । सानो प्रतिनिधिमण्डल लिएर उनी प्रस्थान गरेका छन् । विदाइका क्रममा एयरपोर्टमा कुनै औपचारिक कार्यक्रम भएन । सेनाले सलामी दिने परम्परा पनि तोडियो । बिदाइका लागि मन्त्री र उच्च पदाधिकारीको लावालश्कर पनि देखिएन ।

दुई जना मन्त्री भने आफ्नै हिसाबले एयरपोर्ट पुगेका थिए । गृहमन्त्री सुदन गुरुङ र पर्यटन मन्त्री खडकराज पौडेल प्रधानमन्त्रीलाई विदाइ गर्न गएका हुन् ।

प्रधानमन्त्री शाह राष्ट्रिय पोशाकमा पनि देखिएनन् । उनले कोट पाइन्ट र स्पोर्ट्स सुज लगाएका थिए । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन झनै अनौपचारिक लुगामै थिए । प्राय एकसाथ हिँड्ने प्रधानमन्त्री शाह र बेन आज छुट्टाछुट्टै एयरपोर्ट पुगे । प्रधानमन्त्रीले भीभीआइपी कक्ष प्रयोग गरे भने बेनले सामान्य कक्षबाट गए ।

अरु सबै यात्रुहरु बोर्ड भइसकेपछि मात्रै प्रधानमन्त्री बालुवाटारबाट प्रस्थान गरेका थिए । प्रधानमन्त्रीलाई जहाजनिर बसेर दुई मन्त्रीले बिदाइ गरे । उनीहरुसँग कुनै फुलगुच्छा थिएन । प्रधानमन्त्री चढ्नासाथ जहाज उडेको थियो ।

कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले विमानस्थलमा बिदाइका लागि गएनन् । उनले प्रधानमन्त्रीलाई कार्यकक्षमा नै विदाइ गरेका थिए । वाग्लेले प्रधानमन्त्रीलाई एउटा पुस्तकसमेत दिएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066