भाद्र १३, २०८३
ताप्लेजुङ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टी र पार्टीका उम्मेद्वारलाई असहयोग गरेको भन्दै नेकपा एमालेका पूर्व अध्यक्ष एवं प्रदेश सल्लाहकार कमिटी सदस्य बलबहादर साम्सोहाङ र जिल्ला अधिवेशनका सचिवका प्रत्यासी एवं प्रदेश पर्यटन विभागका मणिशङ्कर पोमुलाई कारवाहीको आशय सहितको प्रतिवेदन बुझाइएको छ ।
शनिबार सदरमुकाम फुङलिङ स्थित पार्टी कार्यालयमा सम्पन्न जिल्ला कमिटीको बैठकमा प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालाई प्रतिवेदन बुझाइएको सहभागीले बताएका छन् । एमालेले निर्वाचन सम्बन्धी समीक्षा तथा अध्ययनका लागि जिल्ला कमिटी सचिव एवं प्रचार विभाग प्रमुख सन्तोष चाम्लिङको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिको प्रतिवेदन प्रदेश कमिटी अध्यक्षलाई बुझाइएको हो ।
साम्सोहाङ र पोमु सहित सिदिङवा गाउँपालिकाको साव्लाखु भन्ज्याङका शान्तिराम रिजाल र लिम्बूदिनका अग्नि श्रेष्ठ समेतले असहयोग गरेको उल्लेख छ । प्रचार विभाग प्रमुख चाम्लिङले भनेँ यस विषयमा खुल्न आनाकानी गरे । होपनि भन्न नसकेका र होइनपनि भन्न नसकेका चाम्लिङले भने, ‘चुनावको समीक्षा बुझाइयो, अव जिल्ला तहकालाई भए जिल्ला, प्रदेश तहकालाई भए प्रदेश, पालिका तहकालाई भए पालिका र वडा तहकालाई भए वडाले आवश्यक अध्ययन गरी के गर्नु पर्ने हो त्यही अनुसार हुन्छ ।’
कारबाही सिफारिस चाँहि हो कि होइन भन्ने जिज्ञासामा प्रचार विभाग प्रमुख चाम्लिङले भने, ‘होइन।। होइन।।, पार्टी कार्यकर्ता र जनताले दिएको रायलाई सम्बन्धित निकायमा जस्ताको तस्तै बुझाएको मात्र हो ।’ चुनावको अध्ययनकालागि अघिल्लो बैठकमा आफ्नो संयोजकत्वमा समिति बनाइएको उनले बताए । ‘चुनावमा सामान्यतया भइहाल्छ नी,’ पार्टी सचिव समेत रहेका चाम्लिङले थपे, ‘सम्बन्धित निकायले अध्ययन गर्ने हो चुनावको समीक्षाचाहिँ बुझाइयो ।’ प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेद्वार क्षितिज थेवेले काँग्रेसका गजेन्द्र प्रसाद तुम्याहाङ लगायतलाई पराजित गरेका थिए ।
साम्सोहाङ र पोमुलाई प्रदेश कमिटीले गरेको कारबाही निर्वाचन अघिमात्रै फुकुवा गरिएको थियो ।
आइतवारको बैठकमा प्रदेश अध्यक्ष खतिवडा, जिल्ला कमिटी इन्चार्ज तिलकुमार मेन्याङबो, प्रतिनिधिसभा सदस्य थेवे, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य लगायतको सहभागिता रहेको चाम्लिङले बताए ।
