१९ साउन २०८३, बुधबार

कोशीको मुख्यमन्त्री विवाद, ओलीले तीन नेतालाई काठमाडौं बोलाए

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, साउन १८, २०८३

विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लिएर नेकपा एमालेभित्र चर्किएको विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित प्रदेशका तीन शीर्ष नेतालाई काठमाडौं बोलाएका छन्।

ओलीले मुख्यमन्त्री कार्की, कोशी प्रदेश कमिटीका इन्चार्ज तथा एमाले सचिव शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई छलफलका लागि काठमाडौं बोलाएका हुन्।

मंगलबार दिउँसो भक्तपुरको गुण्डुस्थित ओली निवासमा तीनै नेतालाई बोलाइएको छ । कोशी सरकारको नेतृत्व परिवर्तन गर्ने ओलीको सन्देश कार्कीले अस्वीकार गरेपछि उनले आफैं संवाद अघि बढाउन लागेका हुन्। छलफलमा कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने वा कार्कीलाई नै निरन्तरता दिने विषयमा टुंगो लगाउने प्रयास हुनेछ।

ओली कोशीमा मुख्यमन्त्री परिवर्तन गरी प्रदेशसभा सदस्य तथा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेका छन् । त्यसको लागि ओलीको सन्देशसहित प्रदेश इन्चार्ज राईले कार्कीलाई राजीनामा गर्न भनेकाक थिए । नर, कार्कीले अस्वीकार गर्दै आएका छन् ।

राईले सोमबार विराटनगरमा मुख्यमन्त्री कार्कीसहित उपलब्ध प्रदेशसभा सदस्यसँग छलफल गरेका थिए। केन्द्रमा भएको राजनीतिक गठबन्धनबारे परिवर्तन र नेतृत्वबारे केन्द्रको निर्देशन पालना गर्नुपर्ने उनले बताएका थिए । तर, कार्कीले पार्टीको सचिवालयको निर्णय नभई राजीनामा नदिने अडान राखेपछि निकास निस्कन सककेको छैन ।

कार्कीले आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेकाले पार्टी नेताको मौखिक निर्देशनका आधारमा पदबाट राजीनामा नदिने बताउँदै आएका छन्। उनले आफूलाई मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए पार्टीको संस्थागत निर्णय आवश्यक पर्ने धारणा राखेका छन्।

सोमबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले आफू अझै एमाले संसदीय दलको नेता र मुख्यमन्त्री दुवै रहेको बताएका थिए। उनले पार्टी अध्यक्ष वा प्रदेश इन्चार्जबाट आफूलाई प्रत्यक्ष रूपमा राजीनामा दिन निर्देशन नआएको दाबी गरेका थिए।

‘म संसदीय दलको नेता मात्र भएर मुख्यमन्त्री भएको होइन,’ कार्कीले भनेका थिए, ‘६५ भन्दा बढी प्रदेशसभा सदस्यको विश्वासको मत लिएर सरकार बनेको हो। यो उपधारा ५ को सरकार हो र आफ्नै ढंगले अगाडि बढ्छ।’ उनले आफ्नो बिकल्प खोजी पनि सहमतिको आधारमा मात्र हुनसक्ने बताउँदै आएका छन् ।

यसअघि एमालेका शीर्ष नेताबीच कोशी प्रदेशमा कार्कीलाई नै निरन्तरता दिने विषयमा सहमति बनेको दाबी गरिएको थियो। तर, अध्यक्ष ओलीले मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन प्रदेश इञ्चार्ज राईलाई खटाएपछि एमालेभित्रको विवाद पुनः सतहमा आएको हो।

कार्कीले पार्टी सचिवालयबाट औपचारिक निर्णय आए त्यसअनुसार अघि बढ्ने संकेत गर्दै आएका छन्। तर, मौखिक निर्देशनका आधारमा भने राजीनामा नदिने उनको अडान छ। पछिल्लो समयमा एमाले पुनर्गठन र ओलीको नेतृत्व परिवर्तनको पक्षमा उभिएका कार्कीलाई सचिवालका बहुमतको साथ रहेको बताइएको छ ।

मुख्यमन्त्री कार्कीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन पनि सुरु भएको छ । तर, कार्कीलाई मुख्यमन्त्रीबाट हटाउन प्रदेशसभा
र प्रदेश प्रमुखकोकमा नै ४७ सांसदको हस्ताक्षर बुझाउनुपर्छ । नेपाली कम्युनिष्ट पार्टीले त्यो प्रस्ताव अस्वीकार गरेपछि कोशीमा नयाँ सरकार गठन र केन्द्रमा भएको सहमति अनुसार गठबन्धन परिवर्तन तत्काल हुने देखिएको छैन ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!