१९ साउन २०८३, बुधबार

मन्त्री पदमा रहेका तिलचन पाठक र इन्द्रमणि पराजुलीद्वारा पनि हस्ताक्षर

मुख्यमन्त्री परिवर्तन गर्न एमालेमा हस्ताक्षर अभियान

Logo
Taplejung Press मंगलबार, साउन १८, २०८३

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका विरुद्ध सांसदहरुले हस्ताक्षर अभियान तीब्र बनाएका छन् । सांसदहरुले हस्ताक्षर अभियान चलाएपछि मुख्यमन्त्री निकट सांसदहरुले भने असन्तुष्टि जनाएका छन् ।

विराटनगरस्थित एमाले कार्यालयमा सोमबार बसेको प्रदेशका पदाधिकारी र संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि तीन नेता राजधानी जाने सहमति भएको थियो । सोही सहमति अनुसार प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश अध्यक्ष घनश्याम खतिवडा राजधानी जाने कार्यक्रम छ ।

मुख्यमन्त्री कार्की पनि दिउँसो २ बजे काठमाडौं उड्ने कार्यक्रम छ । तर, उक्त सहमति विपरीत पार्टी प्रदेश इन्चार्ज शेरधन राईको निर्देशनमा हस्ताक्षर अभियान चलाइएपछि भने मुख्यमन्त्री असन्तुष्टि बनेका हुन् ।

‘सहमतिका विपरित यसरी हस्ताक्षर गराउने, दबाब दिने कार्य उपयुक्त देखिएन । शीर्ष नेताहरूको बोली र काममा एकरूपता देखिएन । मुख्यमन्त्रीले चाहिँ सल्लाह बमोजिम नै अगाडि बढिरहनुभएको छ, तर अर्कोतिर चाहिँ इन्चार्जले त्यो सहमतिभन्दा बाहिर फरक ढङ्गले काम गरिरहनुभएको छ,’ एमाले सांसद रेवतीरमण भण्डारीले भने, ‘दबाब चाहिँ धेरैलाई दिइएको छ । तर, सो दबाबमा धेरैले चाहिँ हस्ताक्षर गर्नुभएको छैन भन्ने हामीलाई जानकारी छ । अहिले पनि फाट्टफुट्ट सहि गराउने प्रयास भइराछ । त्यो चाहिँ उपयुक्त भएन ।’

उता, मुख्यमन्त्रीको विरुद्धमा हस्ताक्षर गराउने अभियानमा सक्रिए एक सांसदका अनुसार आजै ३१ जनाको हस्ताक्षर पुर्याउने तयारी भइरहेको छ । ‘हामीले सोचेभन्दा धेरै माननीयहरुले हस्ताक्षर गरिरहनु भएको छ । क्याबिनेट मन्त्रीहरुले पनि भटाभट हस्ताक्षर गरिरहनु भएको छ,’ ती सांसदले भने, ‘आज शीर्ष नेतासँग भेट गरेपछि पनि सहमति भएन भने हामी यो हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्रीलाई हटाउँछौं ।’ पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटपछि मुख्यमन्त्रीले राजीनामा दिने सो पक्षको दाबी छ ।

यसैबीच सरकारमा सहभागी एमालेका सांसद तथा मन्त्री तिलचन पाठक र इन्द्रमणि पराजुलीले हस्ताक्षर अभियानमा सहभागी भएको बताइएको छ । ‘उहाँहरुले हस्ताक्षर गर्नुभएको छ,’ स्रोतले भन्यो, ‘सरकारमा पनि हुने र त्यही क्याबिनेटका मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्नेले नैतिकता सिकाइरहेका छन् ।’

कोशी प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रीमा पाठक रहेका छन् भने सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्रीमा पराजुली बाहल छन् । यस्तै अर्का सामाजिक विकास मन्त्री रामकुमार मेताले भने राजीनामा दिएर हस्ताक्षर गर्ने बताएको स्रोतको दाबी छ ।
एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोले भने अहिलेसम्म कोही पनि सांसदले हस्ताक्षर अभियान नचलाएको बताए ।

अहिलेसम्म त मेरो जानकारीमा छैन,’ मेन्याङ्बोले भने । स्रोतका अनुसार मेन्याङ्बोसहितका सांसदहरु विराटनगरकै एक एमाले नेताको घरमा जम्मा भएर हस्ताक्षर अभियान चलाइरहेका छन् । आजै साँझसम्ममा हस्ताक्षर गरिसक्ने तयारी भएको उनीहरुको भनाइ छ ।

यसैबीच गरिएको हस्ताक्षर पार्टीमा नबुझाई सिधै संसद र प्रदेश प्रमुखसमक्ष बुझाउन लागिएको एमाले स्रोतले जनाएको छ । नेकपाका सांसदसहित प्रदेशसभाको बहुमत ४७ बढी सांसदको हस्ताक्षर सिधै बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने नेताहरुको दावी छ । ‘हामीले प्रदेशसभामा हस्ताक्षर बुझाउँदैनौं,’ एक नेताले भने, ‘यो ४७ भन्दा बढीको हस्ताक्षर पुर्याएर प्रदेशसभा र प्रदेश प्रमुखकोमा जानसक्छौं ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन नमानेको र गठबन्धनबारे सहमति कार्यान्वयनका लागि छलफलसमेत नगरेको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका विरुद्धमा मोर्चाबन्दी सुरु भएको हो । एमाले दलको विधानको दफा ७ मा दलको नेताबारे व्यवस्था छ । सोही दफाको उपदफा (२) मा संदीय दलको नेताको पद रिक्तता सम्बन्धी व्यवस्था छ ।

जसमा राजिनामा दिएमा, संसदीय दलमा कायम सदस्य संख्याको दुई तिहाइ सदस्यको बहुमतले अविश्वासको प्रस्ताव पेश गरी त्यस्तो प्रस्ताव पारित भएमा, प्रदेश सभाबाट कुनै कारणले निलम्बन भएमा वा प्रदेश सभा सदस्य नरहेमा र निजको मृत्यु भएमा उल्लेख छ ।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच भएको तीन बुँदे सहमतिमा कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्ने उल्लेख छ । तर, एमालेभित्र कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा विवाद हुँदा नयाँ सरकार गठन हुन सकेको छैन । मुख्यमन्त्री कार्की २०८१ वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका हुन् । उनलाई दलको नेताबाट हटाए पनि मुख्यमन्त्रीबाट बर्खास्त गर्न अविश्वासको प्रस्ताव पेश गर्नुपर्छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!