१८ आषाढ २०८३, शुक्रबार

तीन वर्ष पूरा भएका शिक्षकलाई अर्को विद्यालयमा सरुवा गरिने

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, आषाढ १७, २०८३

बिहीबार सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१०औं संशोधन) मा भनिएको छ, ‘स्थायी सेवा अवधि तीन वर्ष पूरा भएका शिक्षकलाई एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवा गर्न सकिनेछ ।’

दिनेश गौतम दिनेश गौतम
 २०८३ असार १८ गते २१:०२
१८ असार, काठमाडौं । तीन वर्ष पूरा भएका शिक्षकको सरुवा एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयलमा सरुवा हुने भएको छ ।

बिहीबार सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१०औं संशोधन) मा भनिएको छ, ‘स्थायी सेवा अवधि तीन वर्ष पूरा भएका शिक्षकलाई एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवा गर्न सकिनेछ ।’

तर अपाङ्‍गता, अरूको सहायतामा हिँड्डुल गर्नुपर्ने अशक्त, गर्भवती र दुई वर्षभन्दा कम उमेरको बच्चा भएको महिलाको हकमा भने यो नियम लागु हुने छैन ।

स्वीकृत गरेको नियमावलीमा सरुवामा के–के छ ?

सरुवा गर्दा आधारभूत तहको कक्षागत शिक्षकलाई समान तहको रिक्त पदमा, आधारभूत तहको विषयगत र माध्यमिक तहको शिक्षकलाई विषयगत रिक्त पदमा मात्र सरुवा गर्नु पर्ने प्रावधान नियमावलीमा राखिएको छ ।

सामुदायिक विद्यालयका लागि सरकारबाट स्वीकृत भई दरबन्दीमा कार्यरत शिक्षक सरुवा भई अन्यत्र गएमा, अनिवार्य अवकाश भएमा, मृत्यु भएमा, स्वेच्छिक अवकाश लिएमा, प्रचलित कानुनबमोजिम सेवाबाट हटाइएको, बर्खास्त गरिएको सूचना विद्यालयमा प्राप्त भएमा वा नयाँ दरबन्दी थप भएको अवस्थामा शिक्षक पद रिक्त भएको मानिने भएको छ ।

रिक्त शिक्षक पदको विवरण केन्द्रको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा विद्यालयले प्रविष्ट गरी पद रिक्त भएको मितिले सात दिनभित्र सम्बन्धित स्थानीय तहलाई लिखित रूपमा अनिवार्य जानकारी दिनु पर्ने प्रावधान नियमावलीमा राखिएको छ ।

तर अनिवार्य अवकाश हुने भई शिक्षकको पद रिक्त हुने भएमा ३० दिन अगावै सरुवासम्बन्धी प्रक्रिया अगाडि बढाउन सकिने छ ।

रिक्त पदको जानकारी प्राप्त भएपछि सम्बन्धित स्थानीय तहले नियमावलीको अनुसूची–१२ बमोजिमको न्यूनतम दरबन्दी भएको अवस्थामा विषयगत प्राथमिकता भए नभएको समेत यकिन गर्नुपर्ने छ ।

र, एकै विद्यालयमा एक तहमा एक विषयका लागि एक भन्दा बढी शिक्षक नरहने गरी र न्यूनतम भन्दा बढी दरबन्दी भएको अवस्थामा सोही अनुसूचीमा भएको विषयको क्रमश: हुने गरी केन्द्रको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा सम्बन्धित विद्यालयको अद्यावधिक विवरणको आधारमा विद्यालयले पेस गरेको रिक्त शिक्षक पदमा सरुवा गरी वा शिक्षक सेवा आयोगमा विज्ञापन गरी पदपूर्ति गर्ने विषयमा सम्बन्धित स्थानीय तहले पद रिक्त भएको सात दिनभित्र निर्णय गर्नुपर्नेछ ।

शिक्षक सरुवा गरी ल्याउनु पर्ने भएमा विद्यालयले कम्तीमा पन्ध्र दिनको म्याद दिई सूचना आह्वान गर्नु पर्नेछ । सरुवाको विज्ञापन भैसकेपछि सरुवा विज्ञापन स्थगित गर्न पाइने छैन ।

सरुवा सूचना विद्यालय, स्थानीय तह र जिल्ला शिक्षा तथा समन्वय इकाइको वेबसाइटमा प्रकाशन गर्नुपर्नेछ ।

सूचना सार्वजनिक नगरी सरुवा गरिएको प्रमाणित भएमा उक्त सरुवा बदर हुनेछ ।

तर सूचना आह्वान गर्दा नियमावलीको नियम ९१ अनुसार महिला शिक्षकको दरबन्दीमा महिला शिक्षक कार्यरत नरहेको वा तोकिएभन्दा कम सङ्ख्यामा कार्यरत रहेको भए महिला शिक्षकबाटै सरुवा गर्ने गरी स्पष्ट खुलाउनु पर्नेछ ।

दरबन्दी मिलानको सन्दर्भमा दरबन्दी कटौतीमा परेका वा खुद पुल दरबन्दी कायम भई अन्यत्र स्थानान्तरण गर्नुपर्ने दरबन्दीको हकमा त्यस्तो दरबन्दीको व्यवस्थापन नभएसम्म सरुवा गर्न पाइने छैन ।

रिक्त शिक्षक पदमा सरुवा भई आउन चाहने सम्बन्धित तह र विषयका इच्छुक स्थायी शिक्षकले आफू कार्यरत विद्यालयको विद्यालय व्यवस्थापन समिति र सम्बन्धित स्थानीय तहको सहमतिसहित विद्युतीय माध्यम वा स्वयम् आफैं उपस्थित भई सम्बन्धित विद्यालयमा निवेदन दिन सक्ने प्रावधान राखिएको छ ।

निवेदन पेस गर्दा आफ्नो सेवा अवधि खुल्ने कागजात, शैक्षिक योग्यता र तालिमका प्रमाणपत्र, हाल कार्यरत विद्यालय र स्थानीय तहमा हालको पदमा सुरु हाजिरी भएको कागजात, आफ्नो स्थायी तथा अस्थायी नियुक्ति पत्रको प्रतिलिपि र असाधारण तथा वेतलवी बिदा लिए नलिएको सम्बन्धी कागजात, कार्यरत विद्यालयको सहमति पत्र, स्थानीय तहको सहमति पत्र संलग्न गर्नु पर्ने भनिएको छ ।

तोकिएको समयावधिभित्र रितपूर्वक प्राप्त हुन आएका निवेदन विद्यालयमा दर्ता गरी सम्बन्धित व्यक्तिलाई दर्ताको जानकारी दिई सोको विवरण सार्वजनिक गर्नुपर्ने भनिएको छ ।

दर्ता भएका निवेदनहरू मध्येबाट ‘ख’ र ‘ग’ वर्गको अपाङ्ग, अरुको सहायतामा हिँडडुल गर्नुपर्ने अशक्त, गर्भवती र दुई वर्षभन्दा कम उमेरको बच्चा भएको महिला लगायत विशेष अवस्थाका शिक्षक भएमा पहिलो प्राथमिकतामा राख्नु पर्ने प्रावधान छ ।

अन्य शिक्षकको हकमा समेत विद्यालयले देहाय बमोजिम प्राथमिकताक्रम निर्धारण गर्नुपर्नेछ :–

(क) शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २९ बमोजिम ज्येष्ठता बापत ३५, नियम ३० अनुसार शैक्षिक योग्यता वापत २० र नियम ३१ अनुसार तालिम वापत १० समेत गरी जम्मा ६५ पूर्णाङ्कमा गणना गरी सबैभन्दा बढी अंक प्राप्त गरेका आधारमा ।

(ख) खण्ड (क) बमोजिम प्राथमिकताक्रम निर्धारण हुन नसकेमा हालको पदमा सबैभन्दा बढी स्थायी सेवा गरेको जम्मा अवधिका आधारमा ।

(ग) खण्ड (क) र (ख) बमोजिमसमेत प्राथमिकताक्रम निर्धारण हुन नसकेमा हालको पदका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो तहको सम्बन्धित विषयको शैक्षिक योग्यताको प्राप्ताङ्कको प्रतिशत वा ग्रेडको आधारमा ।

(घ) खण्ड (क), (ख) र (ग) बमोजिम समेत प्राथमिकताक्रम निर्धारण हुन नसकेमा श्रीमान् श्रीमती मध्ये कुनै एक जना स्थानीय तहमा स्थायी शिक्षक पदमा कार्यरत भएमा ।

(ङ) दुई वर्षभन्दा कम उमेरको बच्चाको आमा मध्येबाट एकभन्दा बढीको निवेदन परेको भए कम उमेरको बच्चाको आधारमा ।

(च) खण्ड (क), (ख), (ग), (घ) र (च) बमोजिमसमेत प्राथमिकताक्रम निर्धारण हुन नसकेमा गोलाप्रथाबाट छनोट गरेको आधारमा ।

तर सरुवा प्रयोजनको लागि सेवा अवधिको गणना गर्दा विद्यालयमा हाजिर भएको मितिदेखिको अवधिलाई गणना गर्नु पर्नेछ । र, प्राथमिकताक्रम सूची तयार पारी प्रधानाध्यापकले प्रमाणित गरी राख्नु पर्नेछ ।

स्थायी शिक्षक आकस्मिक घटना वा आपतकालीन अवस्थामा परेकोले निजको जीवनलाई जोखिममुक्त गर्नुपर्ने भएको वासरकारले निर्धारण गरे बमोजिमको घातक वा कडा रोग लागेको, गम्भीर शारीरिक अशक्तता भई सोको उपचार गर्नुपर्ने भनी सरकारद्वारा गठित मेडिकल बोर्डले सिफारिस गरेकालाई विशेष अवस्था भनिएको छ ।

प्राथमिकताक्रम सूचीमा सबैभन्दा अगाडिको प्राथमिकताक्रममा परेका निवेदक शिक्षकलाई विद्यालयबाट निर्णय गरी सरुवा सहमति प्रदान गर्नुपर्ने भनिएको छ ।

तर तह, श्रेणी र विषय मिल्ने दुई शिक्षकहरूले पारस्परिक सरुवाका लागि निवेदन दिएमा सम्बन्धित विद्यालयले सहमति प्रदान गर्न सक्नेछ ।

सहमति प्राप्त शिक्षकले सोको जानकारी आफू कार्यरत विद्यालयलाई र कार्यरत स्थानीय तहलाई दिनुपर्नेछ ।

कुनै शिक्षकले सरुवाको प्राथमिकतामा परेपछि निवेदन फिर्ता लिएमा वा सरुवा हुन इन्कार गरेमा वा सरुवा हुने प्रक्रिया अघि नबढाएमा निजले सो मितिदेखि दुई वर्षसम्म कुनै पनि विद्यालयमा सरुवा हुन निवेदन दिन पाउने छैन । यसरी निवेदन फिर्ता भएमा दोस्रो प्राथमिकतामा परेको शिक्षकको सरुवाको प्रक्रिया अघि बढाइनेछ ।

शिक्षकलाई सरुवा सहमति दिन वा सरुवा गर्न नसकिने प्रावधान पनि राखिएको छ । दरबन्दी मिलानको सिलसिलामा खुद पुल कायम भएको दरबन्दी भएमा सरुवा सहमति दिन वा सरुवा गर्न नसकिने छैन ।

सम्बन्धित तहमा स्थायी नियुक्ति भएको तीन वर्ष अवधि नपुगेको वा अनिवार्य अवकास हुन एक वर्ष वा सोभन्दा कम अवधि बाँकी रहेको शिक्षक भएमा पनि सरुवा हुने छैन ।

रिक्त पद खुला वा बढुवाद्वारा पदपूर्तिका लागि सम्बन्धित निकायमा लेखी पठाइएको भएमा पनि सरुवा हुने छैन ।

सरुवा भई आउने शिक्षक अन्यत्र जिल्लाको द्वितीय वा प्रथम श्रेणीको शिक्षक भएमा निज शिक्षक सरुवा भई आउँदा जिल्लाभित्रको सम्बन्धित तहको द्वितीय र प्रथम श्रेणीको पद सङ्ख्या भित्र नपरेमा पनि सरुवा हुने छैन ।

सरुवा भई आउने शिक्षक र पदपूर्ति गर्नुपर्ने पदको तह र विषय नमिलेमा सरुवा हुने छैन ।

महिला शिक्षिकाको पद सङ्ख्यामा प्रतिकूल असर पर्ने भएमा र पारस्परिक सरुवा भएको पाँच वर्ष समयावधि नपुगेको भएमा सरुवा हुने छैन ।

जिल्लाभित्रको सम्बन्धित श्रेणीको पद सङ्ख्या भित्र पर्ने वा नपर्ने कुरा सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइबाट यकिन गराउनु पर्ने भनिएको छ ।

सहमति प्राप्त भइसकेपछि सम्बन्धित शिक्षकको सरुवासम्बन्धी आवश्यक कागजात सहित सम्बन्धित निकायमा निवेदन पेस गर्नुपर्नेछ । स्थानीय तह अन्तर्गतको एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सोही स्थानीय तहले सरुवा गर्नेछ ।

एक स्थानीय तहको सामुदायिक विद्यालयबाट अर्को स्थानीय तहको सामुदायिक विद्यालयमा सरुवा शिक्षा विकास तथा समन्वय इकाइले गर्नेछ ।

तर फरक स्थानीय तह र जिल्लामा कार्यरत शिक्षकलाई सरुवा गर्दा सम्बन्धित स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइको सरुवा सहमति लिनुपर्नेछ।

शिक्षा विकास तथा समन्वय इकाइले सरुवा गरेको भएमा सो इकाइले सरुवा हुने स्थानीय तहको शिक्षा विकास तथा समन्वय इकाइ तथा सम्बन्धित दुवै स्थानीय तहलाई र स्थानीय तहले सरुवा गरेको भएमा सो स्थानीय तहले सरुवा हुने स्थानीय तहलाई सरुवा भएको जानकारी दिई सोको अभिलेख अद्यावधिक गर्नु पर्नेछ ।

प्रधानाध्यापकमा छनौट भएको शिक्षकलाई सरुवा भई आउने र सरुवा भई जाने स्थानीय तहले सहमति दिई शिक्षा विकास तथा समन्वय इकाइले सरुवा गर्नुपर्नेछ ।

सरुवा हुने शिक्षकको दरबन्दी रिक्त हुने स्थानीय तहले ऐन तथा यस नियमावलीको अधीनमा रही पदपूर्ति गर्नुपर्नेछ ।

अनलाइन खवरबाट साभार

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!