१० आषाढ २०८३, बिहिबार

खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा थेबे

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, आषाढ १०, २०८३

सुनसरी — कोशी प्रदेश खेलकुद विकास बोर्ड मातहतका जिल्ला खेलकुद विकास समितिहरूले लामो समयपछि नेतृत्व पाएको छ ।

बोर्डका सदस्य सचिव विप्लव घोषले बिहीबार १२ जिल्लामा अध्यक्ष नियुक्त गरेसँगै गत चैतदेखि नेतृत्वविहीन बनेका समितिहरूले पूर्णता पाएको हो । सदस्य सचिव नियुक्तिमा भएको ढिलाइका कारण जिल्ला खेलकुद विकास समितिहरू लामो समयदेखि नेतृत्वविहीन थिए ।

प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच ६–६ जिल्लाको भागबन्डामा सहमति भएपछि नियुक्ति प्रक्रिया अघि बढाइएको हो । बोर्डको निर्णयअनुसार विवाद र कानुनी जटिलताका कारण मोरङ र खोटाङमा भने तत्काल नेतृत्व परिवर्तन नगर्ने सहमति भएको छ।

मोरङका वर्तमान अध्यक्ष इन्द्र लामा उच्च अदालतको आदेशबाट पुनर्बहाली भएका कारण यथावत् रहने भएका छन् । खोटाङका अध्यक्ष रमेश राईलाई पनि तत्काल नहटाउने निर्णय गरिएको छ । दुई दलको सहमति अनुसार एमालेले धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, इलाम र झापामा समितिले नेतृत्व पाएको छ । धनकुटामा मनोजकुमार राई, ताप्लेजुङमा चन्द्र कुमार थेबे, संखुवासभामा लक्ष्मण लिङथेव, सोलुखुम्बुमा अर्जुन रोक्का, इलाममा यतिराज काफ्ले र झापामा शेखर कँडेल नियुक्त भएका छन् । कांग्रेसको भागमा सुनसरी, ओखलढुंगा, उदयपुर, तेह्रथुम, पाँचथर र भोजपुर परेका छन् ।

सुनसरीमा केशव कार्की, ओखलढुंगामा अमितबहादुर गुरुङ, पाँचथरमा सन्तोष मोक्ताङ, भोजपुरमा देउप्रकाश राई, उदयपुरमा धिरज खड्का र तेह्रथुममा राजकुमार नेपाल नियुक्त भएको सदस्य सचिव घोषले जानकारी दिए ।

बोर्डमार्फत प्रदेशका १४ वटै  जिल्लामा नियुक्त हुनुपर्ने जिल्ला खेलकुद विकास समिति अध्यक्ष नियुक्त नहुँदा जिल्ला जिल्ला तहमा हुनुपर्ने बिभिन्न खेलकुद गतिबिधि प्रभावित बनेका थिए । चालु आर्थिक वर्ष सकिन दुई साता मात्र बाँकी रहँदा बिभिन्न खेलकुदका लागि छुट्याइएको बजेट समेत फ्रिज हुने जोखिम बढेको थियो । सदस्य सचिव घोषका अनुसार रिक्त जिल्लाहरूमा अध्यक्ष तथा उपाध्यक्ष नियुक्त गरेर प्रदेशभर खेलकुद गतिविधि सक्रिय बनाएको हो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!