२४ जेठ २०८३, सोमबार

ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगिताको तयारी

टिकट दर बढाउने, विभागीय सहित उत्कृष्ट क्लब सहभागी गराउने, टिकट शुल्कबाट मात्रै प्रतियोगिता सम्पन्न गर्ने

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, जेठ २४, २०८३

जेष्ठ २५, २०८३
भाद्र महिनामा हुने जिल्लाकै चर्चित ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा टिकटदर बढाउने तयारी गरिएको छ । लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार क्वाटर फाइनल चरणको जनही ३ सय रुपैयाँ बनाउने प्रस्ताव गरिएको छ । सेमिफाइनलका लागि ५ सय र फाइनलका लागि १ हजार रुपैयाँको प्रस्ताव गरिएको छ ।
गतवर्ष सम्म क्वाटर फाइनलको १ सय, सेमिफाइनलको २ सय र फाइनलको २ सय ५० रुपैयाँ रहेको थियो । यसवर्ष ३२ सय रुपैयाँको प्याकेज बनाउने र ३ हजार जनालाई सबै खेलमा सहभागी हुनेगरि टिकट कटाउने प्रस्ताव आफूले समितिमा राखेको अध्यक्ष मादेनले बताए । यसो गर्दा कम्तिमा खेल सुरु हुनु अगाडिनै ९० लाख रुपैयाँ सङ्कलन हुनेछ र त्यसैले प्रतियोगिता सम्पन्न हुन्छ । ‘हरेक वर्ष माङ्नु पर्छ । माङनेलाईपनि दिक्क र दिनेलाई पनि गारो। त्यसैले प्याकेज योजना बनाउँ भन्ने प्रस्ताव गरिएको हो,’  मादेनले भने, ‘पहिलो चरणको छलफलमा साथीहरू सकारात्मक हुनुहुन्छ अव शुक्रबार बस्ने बैठकले यस विषयमा छिनोफानो गछौँ ।’
भानुजन माविको प्याराफिटमा ३५ सय सम्म दर्शक आरामले अटाउन सक्ने उनले बताए । इलाम, झापा तिरपनि शुल्क यस्तैनै छ त्यसैले हामिलेपनि यही शुल्कमा जानु पर्छ भन्ने प्रस्ताव गरिएको मादेन बताउँछन् । प्रतियोगितामा आर्मी, पुलिसको विभागीय टिम सहित नेपालमा नाम चलेका क्लबहरू सहभागी गराउने उनले बताए । ‘दर्शकलाई खेल हेर्नपनि आनन्द आउने, आयोजक र खेलाडीलाई पनि सन्तुष्टि हुनेगरीको प्रतियोगिताको तयारी गरिरहेका छौ’ मादेनले भने ।
हरेक आर्थिक वर्षको पहिलो ठूलो फुटबल प्रतियोगिता ताप्लेजुङबाट सुरु हुनेगरेको छ । फुटबलका जानकारले यसलाई सिजन सुरु भएको रूपमा व्याख्या गर्छन् । सदरमुकाम फुङ्लिङस्थित भानुजन माविको मैदानमा खेलाइने प्रतियोगिताका
विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार पुरस्कार पाउँछन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइन्छ । काठमाण्डौं लगायत टाढाका खेलाडीलाई दुई दिन अघि र दुई दिन पछि तथा नजिकको जिल्लाकालाई एक दिन अघि र एक दिन पछिको भत्ता दिने गरिएको कोषाध्यक्ष निरोज श्रेष्ठ बताउँछन् । यसका अतिरिक्त आवतजावत भाडा दिइन्छ ।
गतवर्ष प्रतियोगिताको उपाधि सिरहाको सलहेसले जितेको थियो । काठमाण्डौंको चर्चब्वाइज उपविजेता बन्यो । दुवो फैलाउनकालागि अहिलेनै भानुजन माविको मैदान बारिएको छ । दर्शकका लागि बाँसको प्याराफिट बनाउने गरिएको छ । खेलभनें विगतको जस्तो रक्षा बन्धनदेखि सुरु गर्ने या त कृष्ण जन्माष्टमिको भोलिपल्टदेखि गर्ने निश्चित भइसकेको छैन । नेवार समुदायको लाखे जात्रालाई पनि अवरोध नहुनेगरी गर्ने मादेनले बताए । लाखे जात्राको अवसर पारेर २०२९ सालदेखि यो प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!