साउन ४, २०८३
ताप्लेजुङ मेची राजमार्ग अन्तर्गत फुङलिङ नगरपालिका ८ दोखु खोक्सेखोला र पाथीभरा याङवरक गाउँपालिका २ थेचम्बुको खहरे क्षेत्रमा अवरुद्ध सडक खुलेको छ ।
सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीका अनुसार सोमबार बिहान ७ बजेदेखि सञ्चालनमा ल्याइएको हो । यसलाई दुईतर्फी सञ्चालन हुने बनाउन सोमबार दिउसोसम्म लाग्ने उप्रेतीले जानकारी दिए ।
यहाँको सडक लगातारको वर्षाका कारण आइतबार बेलुकादेखि अवरुद्ध रहेको थियो । ‘खोक्से खोलाको पहिरो सेसम्बु र खहरेको पहिरो काबेलीबाट मेसिन ल्याएर खोल्यौ,’ उप्रेतीले भने, ‘यो क्षेत्रको सडक स्तरोन्नतिको काम भइरहेकाले वर्षा हुनासाथ समस्या देखिन थालेको छ ।’
यसकालागि मेसिनहरूभनें ठाउँठाउँमा राखेको उनले जानकारी दिए । सोमबार विहानभनें ताप्लेजुङ, पाँचथर, तेह्रथुम लगायतका पूर्वी नेपालका जिल्लामा वर्षा भएको छैन ।
