साउन ५, २०८३
ताप्लेजुङ – अविरल वर्षासँगैको पहिरोले सिदिङवा गाउँपालिका १ कालिखोला निवारे टोलमा एउटा घर पुरेको छभनें अरु थप घर जोखिमपूर्ण बनाएको छ ।
मङ्गलबार बिहानको पहिरोले जीवनाथ बानियाँको घर पुरेको वडाध्यक्ष गोपाल बानियाँले जानकारी दिए ।
वडाध्यक्षका अनुसार उक्त घरमा स्थानीय विद्यालयको वाल शिक्षिका समेत रहेकी सिता बानियाँ आफ्नो सन्तानसँगै बस्तै आएकी थिइन् । सोमबार दिउँसो घर आसपासको क्षेत्र चर्किएपछि उनीहरू बेलुका छिमेकी दिलबहादुर बानियाँको घरमा गई बसेका थिए । घरको सरसामानभनें सार्न नपाएको वडाध्यक्षले बताएका छन् ।
मङ्गलबार बिहान मेयरमान बानियाँको घर जोखिमपूर्ण अवस्थामा भएपछि घरको सरसामान सार्ने काम भइरहेको गोपालले बताए । ‘बिहान ११ बजेतिर हामी धमाधम सामान निकाल्दैछौँ,’ वडाध्यक्ष बाँनियाले भने, ‘पानीपनि परिरहेको छ र घरपनि ढल्न लागेको छ ।’ मेयरमानको मतानभनें पहिरोले भत्काइसकेको स्थानीयले बताएका छन् ।
पहिरोको जोखिममा रहेकाहरूलाई सुरक्षित गर्ने र विवरण सङ्कलनको काम भइरहेको सिदिङवा गाउँपालिकाले जनाएको छ । ताप्लेजुङमा छिनमा ठुलो पानी पर्ने, छिनमा रहने भइरहेको छ । भारत सिक्किमसँगको यो सिमावर्ती गाउँमा सोमबारदेखिनै वर्षा भइरहेको स्थानीयले बताएका छन् ।
