ज्येष्ठ २३, २०८३
ताप्लेजुङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङको पहिलो जिल्ला अधिवेशन शनिवार सदरमुकाम फुङलिङमा हुँदैछ । नौ मध्ये सात पालिकाको अधिवेशन सम्पन्न गरेपछि रास्वपा जिल्ला अधिवेशनमा जुटेको हो । वर्तमान सभापति बिरेन्द्र श्रेष्ठले नेतृत्व छोड्ने भएका छन् । फुङलिङ नगरपालिकाका सभापति राजन गुरुङले आकाङ्क्षा देखाएका छन् ।
‘मैले पहिलापनि नेतृत्वमा आकाङ्क्षा देखाएको होइन, हलले तपाइनै हुनुपर्छ भनेपछि नेतृत्व लिएको हुँ,’ श्रेष्ठले भने, ‘अव पनि नेतृत्वमा मेरो चाहना छैन । नगरसभापति राजनजीले चाहना राख्नुभएको सुनेको छु । अरु साथीहरूको नाम सुनेको छैन, हलले जसलाई अनुमोदन गर्छ उहिनै हुन्छ ।’ श्रेष्ठले गुरुङ सभापति हुनसक्ने सङ्केत गरे । गुरुङलेभने आफू सभापतिको आकाङ्क्षी रहेको र उम्मेद्वार भएको बताए ।
सदरमुकाम फुडलिडमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधिसभाका सांसद मिङमा डेभिड शेर्पा, केन्द्रीय प्रशिक्षण विभागका सदस्य रामप्रसाद भट्टराई लगायत आएका छन् । रास्वपाका केन्द्रीय विभागीय सदस्य कैलाश बानियाँ, रूपेश लेछर्वो, गोपाल गुरुङ, इन्द्रकुमारी (इन्दिरा) मेन्याङबो जिल्लाबाटै प्रतिनिधित्व गर्ने हुन् ।
प्रत्येक पालिकाबाट निर्वाचित कार्यसमिति सदस्य, पालिकाबाट छानिएका प्रदेश तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रत्येक पालिकाबाट थप पाँच जनाका दरले छानिएका प्रतिनिधि जिल्ला अधिवेशनको प्रतिनिधि हुने श्रेष्ठ बताउँछन् । एउटा पालिकामा पदाधिकारी सहित १३ सदस्यीय कार्य समिति हुन्छ । ताप्लेजुङबाट प्रदेश प्रतिनिधिको रुपमा एकजना कृष्ण अधिकारी र विभागीय सदस्य ११ जना रहेको श्रेष्ठले जानकारी दिए । जिल्ला कार्यसमिति पनि १३ सदस्यीय हुनेछ ।
जिल्ला कार्य समितिका सहसचिव लिलाराज पौड्यालका अनुसार फुङलिङ नगरपालिका सहित सिदिङवा, सिरिजङ्गा, मेरिङदेन, आठराईत्रिबेणी, मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । फक्ताङलुङ र मैवाखोला गाउँपालिकामा हुन बाँकी रहेको छ । पालिका अधिवेशनबाट फुडलिड नगरपालिकामा युवराज बराल, मेरिङदेन गाउँपालिकामा जीवन पौडेल, सिदिङवामा कविराज लिम्बू, सिरिजङ्गामा भवानी प्रसाद दाहाल, मिक्वाखोलामा नुपु शेर्पा, पाथीभरायाङवरकमा शरन तामाङ र आठराईत्रिवेणीमा केदारनाथ प्रसाईँ सभापति चयन भएका छन् ।
