पुस १२, २०८२
ताप्लेजुङ – २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार योगेश भट्टराई सँग २ सय ८ मतले पराजित खेलप्रसाद बूढाक्षेत्री पराग फेरी उम्मेद्वार बन्ने भएका छन् । नेपाली कम्युनिष्ट पार्टीले उनको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
माओवादी, नेकपा एस लगायतका दल मिलनपछि शुक्रबार बसेको पहिलो बैठकले परागलाई प्रत्यक्षमा सर्वसम्मत एकल नाम सिफारिस गर्ने र समानुपातिक तथा राष्ट्रियसभाकालागि मिलाएर सिफारिस गर्ने निर्णय गरेको हो । समानुपातिक तर्फभने तत्कालीन एसका रामचन्द्र (आरसी) पोमु आदिवासी जनजातिमा, माओवादीका दावाछिरिङ शेर्पा (विषालु) अल्पसङ्ख्यक, नेकपाका असिम लिम्बू (जेनजी) खुला र एसका कल्पना तुम्वाहाम्फेलाई महिला उम्मेद्वारका रुपमा सिफारिस गरिएको छ ।
राष्ट्रियसभाकालागि दलित तर्फ एसका नेत्र नेपाली र खुलामा माओवादीका पर्शुराम कार्कीको नाम सिफारिस गरिएको नेपाली कम्युनिष्ट पार्टीका विष्णुकुमार हाङवाङ (बिरु) ले जानकारी दिए । दलहरूको सङ्गठनात्मक संरचना केन्द्रबाट आइ नसकेकाले एउटा दलको नेताले अध्यक्षता गर्ने, अर्को दलबाट आएकाले कार्यक्रम सञ्चालन गर्ने, अर्को दलबाट आएकाले स्वागत मन्तव्य राख्ने, प्रमुख अतिथि राख्ने जस्ता क्रियाकलाप गरेर बैठक चलिरहेको नेताहरूले बताएका छन् ।
