ताप्लेजुङ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकालागि काँग्रेस ताप्लेजुङले प्रत्यक्ष तर्फ जिल्ला कार्य समितिका सभापति गजेन्द्र प्रसाद तुम्याहाङ मात्रैको नाम सिफारिस गरेको छ । समानुपातिक र राष्ट्रिय सभाकालागि भने १३ जनाको नाम सिफारिस गरिएको छ ।
पार्टी प्रवक्ता विश्व राज नाल्बुका अनुसार मंसिर २५ गते बसेको संयुक्त बैठक र २६ गतेको जिल्ला कार्यसमितिको बैठकले तुम्याहाङको नाम सिफारिस गरेको हो । तुम्याहाङ नेपाल विद्यार्थी सङ्घदेखि राजनीति प्रारम्भ गरी जिल्ला कार्य समितिको सचिव हुँदै सभापति बनेका हुन् । समानुपातिकतर्फ खुल्लामा कोशी प्रदेशका पूर्व मन्त्री प्रताप प्रकाश हाङ्गाम र जिल्ला कार्य समितिका पूर्व सभापति केशवप्रसाद दाहाल तथा महिलामा मेरिङदेन गाउँपालिका ५ थुकिमाका कल्पनादेवी सिटौलाको नाम सिफारिस गरिएको छ ।
राष्ट्रियसभाकालागि १० जनाको नाम सिफारिस गरिएको छ । खुल्लातर्फ मणि लामा, पदमसुन्दर पालुङ्वा, मात्रिकाप्रसाद शेर्पा, गीताकुमारी सेन्दाङ र बलबहादुर तामाङ तथा अपाङ्गता भएका व्यक्तिमा तिलप्रसाद सुब्बाको नाम सिफारिस गरिएको छ ।
महिलातर्फ लिलादेवी बोखिम, मातृकादेवी प्रसाईँ कार्की, गीता चौहान र प्रमिला गुरुङको नाम सिफारिस गरिएको छ ।
विगठित प्रतिनिधिसभाको सदस्य रहेका बोखिम र गीताकुमारी सेन्दाङले भनें आफूहरूको चाहना विपरीत भएको बताएका छन् । बोखिमले आफू प्रत्यक्ष तर्फको उम्मेद्वार हुने बताएकी छन्भनें सेन्दाङले प्रतिनिधिसभामा समानुपातिकमा चाहना रहेको बताएकी छन् ।
पार्टी प्रवक्ता नाल्वोलेभनें भेलाले सर्वसम्मत निर्णय गरेको उल्लेख गरेका छन् ।

