मंसिर ५, २०८२
ताप्लेजुङ – एमालेको महाधिवेसन प्रतिनिधिमा मनोनयन दर्ता गराउनेले ताप्लेजुङमा ७ हजार १ सय रुपैयाँ बुझाउनु पर्ने भएको छ । निर्वाचन समितिका संयोजक राजकुमार चुडालका अनुसार जिल्लाका ६१ वटा वडामा निर्वाचन गराउनु पर्ने र त्यसकालागि कम्तिमा १ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने भएकाले मनोनयन शुल्क ७ हजार रुपैयाँ निर्धारण गरिएको जानकारी दिए । एक सय रुपैंयाभनें मनोनयन पत्रको शुल्क रहेको छ ।
‘जिल्ला पार्टी कमिटीसँगको समन्वयमा शुल्क निर्धारण गरेका हौ,’ चुडालले भने, ‘सहमति भयोभने मनोनयन फिर्तासँगै शुल्क रकमपनि फिर्ता हुन्छ, निर्वाचनमा गए शुल्क लागि हाल्यो ।’ ताप्लेजुङबाट ४ महिला, १ दलित, १ युवा र ६ खुला गरी १२ जना प्रतिनिधि चयन हुँदैछन् । जिल्लाभरी पार्टी सङ्गठित सदस्य सङ्ख्याभनें ७ हजार १ सय २ जना रहेको चुडालले जानकारी दिए ।
मंसिर ५ गते मतदाता नामावली सार्वजनिक, त्यही दिन दावी विरोध र अन्तिम नामावली प्रकाशन, मंसिर ६ गते मनोनयन दर्ता र मंसिर १२ गते एकैदिन सबै वडामा मतदान गर्ने तालिका रहेको छ । मतदान प्रकृयामा गए मतपेटिका सदरमुकाम फुङलिङ ल्याउने र पार्टी कार्यालयमा मतगणना गर्ने चुडालले जानकारी दिए ।
प्रदेश कमिटी सदस्य चुडालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।
