२१ मंसिर २०८२, आइतबार

मौसम खुल्यो, तिब्बत माइत हिँडेका चेलीको बाटो खुलेन 

Logo
Taplejung Press मंगलबार, कार्तिक १८, २०८२

ताप्लेजुड — पूर्वी नेपालमा आइतबारयता मौसम सफा छ । हिमालमा हिउँ टल्किन थालेको छ । फाँटका बेसींमा धानका बाला लहाउन थालेका छन् ।

मौसम घमाइलो भए पनि तिब्बत जाने बाटो अझै खुलेको छैन । गत साताको भारी हिमपातले बाटो अवरुद्ध भएपछि तिब्बत हिँडेका र त्यहाँबाट फर्किरहेकाहरुले गन्तब्यमा पुग्न सकेका छैनन् ।

बिभिन्न कामले कात्तिक ४ देखि १२ गतेसम्म हिँडेका १९ जना बाटाे नखुल्दा बीचमै रोकिएका छन् । तिब्बतस्थित माइती हिँडेका फक्ताङलुङ गाउँपालिका–७ याङ्माका ५ जना चेली पनि कात्तिक १२ देखि ओलाङ्चुङगोलामै रोकिएका छन् । कामकाे सिलिसलामा तिब्बत पुगेका ६ जना नेपालीले स्वदेश फर्कन पनि पाएका छैनन् ।

फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन शेर्पा लामाका अनुसार आउजाउका लागि चीनको अध्यागमन कार्यालय खुलेको छैन । हिउँले भरिएको बाटो पूरै अवरुद्ध छ । कहिलेदेखि खुल्छ भन्ने पनि अन्योल छ । नेपालको तुलनामा चीन तर्फको सडकमा बाक्लोगरी हिउँ जमेको र मेसिन नै लगाएर पन्छाउनु पर्ने भएकाले अन्योलता भएको वडाध्यक्ष छेतेनले बताए । ‘म अहिले सदरमुकाम फुङलिङमा छु । मलाई माथि गाउँ (ओलाङचुङगोला) बाट पनि कहिले खुल्छ भनेर बिहानबेलुकै सम्पर्क गरिरहेका छन् । उता रिउमा रहेकाहरुले पनि कहिले फर्कन पाइन्छ भनेर सोधेको सोध्यै छन्,’ छेतेनले भने, ‘चीनको डिङ्जे काउन्टीको सिमाना हेर्ने प्रहरी प्रमुखले मेसिन नलगाएसम्म हिउँ पन्छाउन सक्ने अवस्था नभएको सुनाएका छन् । कहिले खुल्ने भन्ने अन्योल भएको छ ।’

तिब्बतको प्रशासनले जिल्ला जनसरकारलाई बाटो खोल्ने अनुमति मागेको र जिल्लाले अनुमति दिएपछि बल्ल काम सुरु हुने सूचना पाएको छेतेनले बताए । नेपालको तुलनामा चीन तर्फको भूभाग ओसिलो भएकाले हिउँ बिलाउन लामो समय लाग्ने गरेको छ । ‘हाम्रोतिर पारिलो भएकाले घाम लागे हिउँ बिलाउन थाल्छ । घाम लागेको बेला झ्यामझ्याम टेकेर आफैंले बाटो बनाएर जान सकिन्छ । तर उताबाट मेसिनले हिउँ नपन्छाएसम्म सडक खुल्दैन,’ छेतेनले भने । रिउदेखि सिमानासम्म अहिले मोटरबाटोबाहेक हिँडेर आउने अर्को विकल्प नभएको उनले सुनाए ।

चीनको डिङ्जे काउन्टीस्थित रिउमा माइती भएका फुटिक शेर्पा, लमु शेर्पा, फुमु शेर्पा, खान्जे शेर्पालगायत कोसेली बोकेर माइती हिँडेका थिए । गाउँबाट हिँड्नु अघि उनीहरुले वडा कार्यालय ओलाङचुङगोलामा आफ्नो विवरण टिपाए । वडा कार्यालयले रिउ प्रशासनमा पठाइदियो । उसले अनुमति दिएपछि वडाले उनीहरुलाई जान मिल्ने खबर गरेको थियो । याङ्माबाट ओलाङचुङगोला आइपुग्न एकदिन पैदल लाग्छ ।

कात्तिक ४ गते (अक्टोबर २१ तारेख) का दिन टिपताला भन्ज्याङबाट रिउ गएका फक्ताङलुङ–७ का वडासदस्य फुपुल्हामु शेर्पा, अर्का वडासदस्य वाड्ग्या शेर्पा, उनकी श्रीमती जोडेगी शेर्पासहित सोनाम शेर्पा, दाबाफुटी शेर्पा र छवेसाङ शेर्पा गरी ६ जना पनि रिउमै रोकिएका छन् । उनीहरु पनि कात्तिक १२ मै फर्कने तयारीमा थिए ।

खासगरी यही दिन तिब्बतबाट फर्कनेलाई सिमानासम्म ल्याइदिने र नेपालबाट जानेलाई अध्यागमनबाट अनुमति दिने योजना तिब्बत प्रशासनको थियो । अघिल्लो दिनदेखिको हिउँले द्विदेशीय सिमाना टिपताला भन्ज्याङदेखि दुवै देशको भूभाग छपक्कै छोपेपछि उनीहरु रोकिएका हुन् । ‘सामान गाडीमा लोड गरिसकेका थियौं, हिँड्ने समयमा बाक्लो हिउँ परेको खबर आएर यातायात ठप्प भएपछि यतै रोकिएका छौं,’ फुपुल्हामुले वडाध्यक्ष छेतेन शेर्पा लामालाई विच्याट मार्फत पठाएको सन्देशमा छ ।

टिपताला भन्ज्याङ समुन्द्री सतहबाट ५१ सय टर उचाइमा छ । यहाँ मौषमी प्रणालीमा परिवर्तन हुनासाथ हिउँ पर्ने गरेको वडा कार्यालयका कर्मचारी तेन्जीङ शेर्पा बताउँछन् । यसको जानकारी ओलाङ्चुङगोलाका बासिन्दालाई पाउन मुस्किल छ । ‘बोर्डरमा टेलिफोन लाग्दैन, तल बस्तीबाट पनि देखिदैन,’ वडाध्यक्ष छेतेनले भने, ‘बोर्डरमा हिउँ परेको छ की छैन भनेर रिउ प्रशासनलाई सोध्नु पर्छ ।’ ओलाङ्चुडगोलामा टेलिफोन र इन्टरनेट नचल्दा त्यो पनि सम्भव नहुने उनले वताए ।

तेन्जीङका अनुसार कहिलेकाँही तीन घण्टाको पैदलमा रहेको जोङ्गीन भन्ने ठाउँमा इन्टरनेट चलाउन पुग्नु पर्छ । माैसम खुलेको मौका परे यहाँ सदरमुकामको टावरको फोरजी नेटवर्क चल्छ । ‘टिपताला नाकाबाट तिब्बत जाने नागरिकको विवरण र जिल्ला प्रशासन ताप्लेजुङले उपलब्ध गराएको सिमा पास परिचय पत्रको फोटोकपी एक साताअघिनै रिउ प्रशासनलाई पठाउनु पर्छ । उनीहरुले विवरण हेरेर अनुमति दिएपछि बल्ल हामी यताबाट पठाउँछौं,’ तेन्जीङले भने, ‘नत्र उताको इमिग्रेसनको मान्छे बोर्डरमा आउँदैन र यताबाट गएकाले जान पाउँदैनन् दुख मात्रै पाउँछन् ।’

अहिलेसम्म ओलाङ्चुङगोला र याङ्माका बासिन्दा मात्रै तिब्बतमा आउजाउ गरिरहेका छन् । माइती हिँडेका चेलीहरु पर्खेर ओलाङ्चुङगोलामै बस्ने र बाटो खुलेपछि पुगेर फर्कने मनस्थितिमा रहेको तेन्जीङले बताए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!