

पाँचथर — मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली खण्ड पुनः भासिएको छ । आजसम्ममा सञ्चालनमा ल्याउने गरी शनिबार साँझसम्म काम गरिए पनि बिहानपख पुनः सडक भासिएकाले सो खण्डमा यातायातका साधन सञ्चालन गर्न कठिनाइ भएको सडक डिभिजन इलामले जनाएको छ ।
सो खण्डको अवरोध हटाएर आइतबारदेखि यातायात खुलाउने गरी काम गरे पनि पुनः सडकमा धाँजा फाटेपछि पुनः जोखिम बढेको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । उनका अनुसार सडक डिभिजनले मेची राजमार्गको पाँचथर इलाम र माइखोला जोरकलशका दर्जनौं पहिरो पन्छाएर अवरोध खुलाए पनि नजिकबाट लेदोसहितको पानी निस्कने,सडकमा चिरा पर्ने र धाँजा फाट्ने आदी समस्याले राजदुवाली खण्डको काम सफल भएको छैन ।
मेची राजमार्गको यो खण्ड असोज १८ देखि पूर्ण रूपमा बन्द छ । पहिरो गएको एक सातापछि आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शनिबार यस क्षेत्रको भ्रमण गरेका थिए ।