

आश्विन १८, २०८२
ताप्लेजुङ – शनिबार बिहानदेखि जिल्लाका सबैजसो स्थानमा वर्षा भइरहेको छ । स्थानीयले क्षति पुर्याउनेगरिको ठुलो बर्षाभनें नभएको जनाएका छन् । पर्यटकहरूको चाप रहेको फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोला, वाड्नं ६ लेलेपको घुन्सा, सिरिजङ्गा गाउँपालिका ८ याम्फुदिनमा वर्षा भइरहेको तर ठुलो वर्षा नभएको स्थानीयले बताएका छन । फक्ताङलुङ ७ वडा कार्यालयका कर्मचारी तेन्जिङ शेर्पाले आज बिहानैदेखि वर्षा भइरहेको जानकारी दिए ।
‘छिनमा पर्ने, छिनमा रोकिने भइरहेको छ,’ उनले भने, ‘ठुलै असर गर्नेगरिको चाहिँ परेको छैन, तर दिउँसोपछि देखि वर्षाको गति बढ्ने गरिको मौषम चाही छ ।’ घुन्साका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका पर्यटन सहायक टाँसी शेर्पा घुन्सामापनि सामान्य वर्षा भइरहेको बताउँछन । ‘यहाँ कञ्चनजङ्घा जाने र फर्कने पर्यटकपनि छन्,’ तेञ्जीङले भने, ‘आजपनि बिहानको मौसम राम्रै थियो र हिँडिरहेका छन् अव नजिकको क्याम्पको होटलमा पुगेर रेस्ट गछर्न होला ।’
यो सिजनमा अहिलेसम्म ७२ जना पर्यटक आएकोपनि टाँसीले जानकारी दिए । याम्फुदिनतिर पनि वर्षा भइरहेको र पर्यटकहरुपनि हिँडिरहेको स्थानीय होटल तथा पर्यटन व्यवसायी छिरिङ शेर्पाले जानकारी दिए । ‘यहाँबाट बेसक्याम्प तिर आज बिहान दुईजना विदेशी र उनीहरूका सहयोगी गए,’ छिरिङले थपे, ‘मेरो होटलमा आइपुग्नेगरी पनि आइरहेका छन् ।’ मध्यान्ह १२ बजेसम्मको वर्षा छाता प्लास्टिक ओढेर हिड्न सकिने गरीको भएकाले खासै आपत्ती नभएको बताए । ‘बेलुकासम्म पनि वर्षा ठुलो भए उनिहरुलाई कन्भिन्स गरेर आ आफ्नो होटलमा राख्छौं’ छिरिङले भने । सदरमुकाम फुङलिङ लगायतका स्थानमापनि शनिबार बिहानदेखि वर्षा भइरहेको छ । मध्यम वर्षा भएकाले नागरिकहरू समस्यामा पर्ने गरीको अवस्थाभने नरहेको स्थानीय बताउँछन् ।