

पाँचथर — याङवरक गाउँपालिका–४ थर्पुको याङवरक पोखरी र कालिका मन्दिर धाम वरिपरि जोर निशान नचाइएको छ ।महानवमीको अवसर पारेर बुधबार यस क्षेत्रमा कम्फु र जङ्गे नामका जोर निशान नचाइएको हो ।

यहाँ महानवमीको अवसर पारेर २ सय ५० वर्ष अघिदेखि निरन्तर बडादसैँको अघिल्लो दिन जङ्गे र कम्फु नामका जोर निशान नचाइँदै आएको इतिहास छ ।

यही परम्परालाई निरन्तरता दिँदै यसपटक पनि यहाँ कम्फु र जङ्गे नामका जोर निशान धुमधाम साथ नचाइएको हो । यी निशानलाई नव दुर्गा भवानीको प्रतीक र शक्तिका रूपमा पूजा गरेपछि नचाउने चलन छ । यो वर्ष पनि निशान प्रदर्शनीलाई निरन्तरता दिइएको हो ।

यी निशान १८३१ साल देखि देखाउन थालिएको इतिहास छ । यी निशान नेपाल राज्य एकीकरणका क्रममा लिम्बूवान फौज र साह वंशीय सेना बिच ६ पटक सम्म युद्ध हुँदा हारजित नभएपछि साह पृथ्वी नारायण शाहका सेनाले लिम्बुवानलाई उपहार स्वरूप छोडेर गएका हुन् । निशान जात्रामा तत्कालीन युद्धमा प्रयोग भएका हात हतियार र खुँडा खुकुरी पनि प्रदर्शन गरिन्छ ।

पृथ्वी नारायण साह र लिम्बूवानबीच सम्झौतापश्चात उपहार स्वरूप छोडिएका निशान एक वर्षका ३ सय ६५ मध्ये ३ सय ६४ दिन लिम्बुवानका जिम्मावालहरूको घरमा राखिन्छ भने एक दिन (महानवमी)मा कालिका मन्दिर परिसरमा प्रदर्शन गरिने याङवरक ४ का वडाध्यक्ष सविन मावो बताँउछन् ।

निशान प्रदर्शन गर्न थालेको २ सय ४९ वर्ष पछि २०८० सालदेखि नेपाली सेनाले सलामी गर्न थालेको थियो । यो वर्ष भने जेन–जी आन्दोलनपश्चात मुलुकमा उत्पन्न परिस्थितिलाई कारण देखाउँदै सलामी अर्पण गरिएन । निशान प्रदर्शन गर्ने व्यवस्थापन याङवरक ४ को वडा कार्यालयले लिएको छ । यो वर्ष निशान हेर्न पाँचथर सहित ताप्लेजुङ,तेह्रथुम,इलाम हुँदै सिक्किम र दार्जिलिङ सम्मका नागरिक आइपुगेका थिए ।












