


उनी टीकाका दिन बिहानै घर जान्छन् र परिवारसँग बसेर दसैं मनाउँछन् । गोठ भएको ठाउँबाट घर पुग्न कम्तीमा तीन घण्टा पैदल यात्रा गर्नुपर्छ । उनको गोठमा चार जना छन् । दसैंका बेला आलोपालो गरेर गोठमा बस्छन् उनीहरू ।
झन्डै ३ सय भेडा हेर्न टोपबहारदुरलाई साथ दिने हिमलाल खड्का, अनिल राई र रुकमान राई छन् । ‘हिमलाल र म टीकाको बिहानै उठेर घरतिर जान्छौं, राई दाजुभाइले दसैंलाई उति महत्त्व नदिने भएकाले दिनभर गोठमा बस्छन्,’ टोपबहादुरले भने, ‘हामी द्वादसी या त्रयोदसीको दिन फर्कन्छौं ।’
अढाई दसकसम्म दसैंको टीका लगाउन नपाएका फुङलिङ नगरपालिका-११ फावाखोलाका गोपाल विष्ट ‘अन्तरे’ भने लेलेप घुन्सानजिकैको अम्जीलेसामा गोठ छाडेर महाअष्टमीका दिन घर आएका छन् ।
यस वर्ष टीका लगाउन नमिल्ने दुई जनालाई गोठमा पुर्याएर चार/पाँच दिनका लागि उनी मूल घरमा आएका हुन् । ६ भाइ छोरामध्येका अन्तरे दसैंको टीका लगाएर घरमै बस्ने र त्रयोदसीको दिनमात्रै खर्क फर्कने योजना बनाएका छन् । घरबाट भेडा भएको खर्कमा पुग्न उनलाई पूरा एक दिन लाग्छ । यातायातको सुविधा नभएकाले पैदलै यात्रा गर्नु पर्छ ।
