०६ साउन २०८२, मंगलबार

एक न्यायाधीशका दुई सय ३० दिन, चार सय १३ फैसला 

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, साउन ०५, २०८२

ताप्लेजुङ – ‘न्याय ढिलो दिनु भनेको न्याय नदिनु जस्तै हो’ यो उत्ती प्रचलित छ । तर पछिल्ला वर्ष जिल्ला अदालतको हकमा भनें फैसला प्रकृया तीब्र बनेको छ । जिल्ला अदालत ताप्लेजुङमा त एकजना न्यायाधीशले एक आर्थिक वर्षमा चार सय १३ वटा मुद्दाको फैसला गरेको पाइएको छ । आर्थिक वर्ष प्रारम्भको महिनादिनपछि सरुवा भई आएका जिल्ला न्यायाधीश विकास श्रेष्ठले दुई सय ३० कार्यदिनमा चार सय १३ मुद्दाको फैसला गरेका हुन् ।
एक आर्थिक वर्षमा ३ सय ६५ दिन हुन्छ । न्यायाधीश श्रेष्ठ भदौ ५ गतेमात्रै सुरु भएर आएका हुन् । एक महिनासम्म सिरिजङ्गा गाउँपालिका ३ सिकैचामा भएको वडाध्यक्षको उप निर्वाचनमा बिताउनु परेको थियो । सदरमुकामबाट टाढा भएकाले निर्वाचन अधिकृतको कार्यालय स्थापनादेखि निर्वाचन सम्पन्न हुँदासम्म त्यही बस्नू परेकाले अदालतको काम हुन सकेको थिएन । स्रेस्तेदार मनोज बरालका अनुसार जिल्ला अदालतमा १८ महिनाभन्दा माथिका मुद्दा अब एउटा पनि छैनन् । सबै निल भएको छ । न्यायाधीश श्रेष्ठले जिल्ला अदालतबाट फैसला भएर उच्च अदालतमा पुगेको १८ महिना माथीको मुद्दा टुङ्ग्याइदिन माथिल्लो निकायमा अनुरोध गरेरपनि डेढ वर्ष माथिका मुद्दाको किराना लगाएको बरालले बताए ।
अदालतका सूचना अधिकारी विष्णुकुमार राईका अनुसार २०८२ असार मसान्तमा दुई वर्ष पुग्ने १७ र १८ महिना पुग्ने ४७ थान मुद्दा थिए । ति सबै फैसला भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका एक सय २७ मध्ये एक सय २० वटा फस्‍यौट भएको छ । आर्थिक वर्ष २०८१/८२ मा नयाँ दर्ता भएका चार सय ५२ मुद्दा थिए । पुराना सरी आएका, नयाँ दर्ता भएका समेतगरी पाँच सय ७९ मुद्दामध्ये चालु आर्थिक वर्षका लागि एक सय ५९ बाँकी रहेको राईले जानकारी दिए ।
एकल इजलास रहेको ताप्लेजुङमा आर्थिक वर्ष २०७७÷७८ मा तीन सय १३, ०७८÷७९ मा चार सय १२, ०७९/८० मा तीन सय २९, ०८०/८१ मा तीन सय ६८ र ०८१/८२ मा चार सय २० मुद्दाको फैसला भएको हो । सामान्यतया एकजना न्यायाधीश एउटा जिल्लामा दुई वर्षसम्म रहने प्रचन छ ।

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066