

ताप्लेजुङ – मङ्गलबार बेलुका ५ः३० बजेको थियो । परिवारका सदस्य सँगै घरमा खाना खाएर बसिरहेका थिए सिदिङ्वा गाउपालिका वाड्नं ३ थुङरुङुवाका ३५ वर्षीय राजकुमार लिम्बू । त्यतिनै बेला ठुलो आवाज सहित चट्याङ पर्यो । त्यो चट्याङ घर नजिकैको सिमलको रुखमा ठोकिएको आवाज आयो । त्यहीबेला राजकुमार अचेत भएर ढले । चट्याङको आवाजसँगै ढलेपछि परिवार र गाउँलेहरूले सिदिङवा स्वास्थ्य चौकी पुर्याए । स्वास्थ्य चौकीले जीवित नभएको घोषणा गरेपछि उनको शव पोष्टमार्टमका जिल्ला अस्पताल लयाइएको छ ।
मृतकका भाइ कृतिमान देवानका अनुसार सिमलको रुखमा परेको चट्याङ विजुलीको तार हुदै घरमा आएको र त्यसले ज्यान लिएको अनुमान गरिएको छ । चट्याङले यही गाउपालिका ५ लिम्बुदिनका १७ वर्षीय मिसन लिम्बूलाई घाइते बनाएको छ । मिशनभने गड्याङगुडुङ सुरु भएपछि विजुली मार्न एमसिवि झार्न लागेका थिए । त्यही विजुलीको एमसिवि झार्ने क्रममा घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिएका छन् ।
ताप्लेजुङमा हरेक वर्ष चट्याङका कारण मानवीय क्षति हुँदै आएको छ । चट्याङबाट बच्न ठुलो रुखको फेदमा नबस्न, बिजुली बन्दगर्न सुझाउने गरिएको छ । तर घर भित्र, खुला ठाउमा धेरैको ज्यान जाने गरेको छ ।