

ताप्लेजुङ – वर्षा र बाढी बढ्ने बित्तिकै ताप्लेजुङ, पाँचथरको याङवरक, हिलिहाङ र फालेलुङका वासिन्दालाई हेवाखोला डाइभर्सनको चिन्ता हुन्छ । यहाँको डाइभर्सन बग्ने बित्तीकै यातायात ठप्प हुन्छ । ढुवानीका साधनको त विकल्पै हुदैन । ठुलो वर्षा हुने बित्तीकै यी क्षेत्रका नागरिकको पहिलो चासो र चिन्ता यही खोला हुने गरेको छ । बेलिब्रिज निर्माणको अन्तिम चरणमा पुगेर भत्किएपछि भौतिक मन्त्रालयले छानविन समिति बनाएको थियो । समितिको अध्ययनपछि यही ठाउमा बेलिब्रिज बनाउने निर्णयमा सरकार पुगेको छ । सडक डिभिजन कार्यालय इलामका यही क्षेत्रका सुपरभाइजर डम्बर मिश्रका अनुसार बेलिब्रिजको सामान खोल्ने काम सकिएको छ । सामान आउने विषयभने अनिश्चित छ ।
बिग्रीएको सामान भारतको कम्पनीले दिनुपर्छ । भारतीय कम्पनीले कहिले सामान दिन्छ ठेकदार कम्पनी निश्चित छैनन् । बाढी आए हेवाखोलाको डाइभर्सन जतिबेला बग्ने र बगाउने भएकाले हाइड्रोपावर कम्पनीसँगको समन्वयमा पेनस्टक पाइप ठूलाखाले फलामे पाइप राख्ने तयारी भएको छ । चारवटा ठूला पाइपराखे यहा आउने पानी त्यसको भित्रबाटै जाने बुझाई प्राविधिकको छ । एक प्राविधिकले भने, चारवटा ठूला पेनस्टक राख्ने र त्यसलाई बग्न नदिन एकअर्काबीचको वल्डिङ गर्ने तयारी भएको छ । दुईवटा पेनस्टक पाइप हेवाखोलामा झारी सकिएको र थप दुईवटा झार्ने तयारी छ ।
ताप्लेजुङ र पाँचथरमा बन्दै गरेका हाइड्रोपावर कम्पनीले एक एक वटाका दरले उपलब्ध गराएको आफूले सुनेको तर यकिनचाहिँ नभएको मिश्र बताउँछन् । बेलिब्रिजको सामान आइपुगे जडानकालागि भने धेरै समय लाग्दैन । १५ दिनसम्ममा जडानको काम सकिन्छ । यसअघि पनि १३ दिनमा जडान अन्तिम चरणमा पुगेको थियो । तर त्यहीबेला भत्कियो । पेनस्टक पाइप राखेपछि बाढीले ठुल्ठुला रुखनै बगाएर ल्याएमात्रै क्षति पुग्ने रेमिट हाइड्रोका इन्जिनियर मुकुन्द पोख्रेल बताउँछन । मुढाहरू आएर तेर्सिएर वसेभने बेलिब्रिज जस्तै बगाउने जोखिम हुन्छ । अन्यथा ससानो बाढी बिगार्दा मर्मत गर्दै यातायात चलाउन सक्ने सम्भावना हुन्छ ।
असार मसान्तमा सक्ने गरी दोभान–सुपर सौगात–लाइट बिल्डर्स जेभिले बेलिब्रिजको ठेक्का लिएको थियो । जडानको अन्तिम चरणमा पुल भाँचिदा तीन जना मदजुरको मृत्यु भयो भने तीन जना घाइते भए ७० मिटर लामो तथा ४ दशमलव २५ मिटर चौडाइ भएको ब्रिजको काम ८० प्रतिशत सकिएको थियो । भाँचिएपछि २० प्रतिशत सामाग्री बिग्रियो । भारतको मोडुल ब्रिज उत्पादक गार्डेन रीच शिपबिल्डर्स एण्ड इन्जिनियर्स लिमिटेड बेलिब्रिजमा प्रयोग हुने सामाग्री उपलब्ध गराएको थियो ।
नेपालमा ५० मिटरसम्मका बेलिब्रिजमात्र जडान हुने गरेकामा यो ७० मिटरको बन्दै थियो यसको नियमन भारतकै इन्जिनियर तथा प्राविधिकले गर्दै आएका थिए । २०८० सालमा यहाँको पुल बगाएपछि बेलिब्रिज राखिएको थियो । २०८१ असोजमा बेलिब्रिज पनि बगाएपछि लामो मोडुलर ब्रिज जडानको क्रममा रहेको थियो ।