

ताप्लेजुङ — सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले शनिबार बिहान ११ वजे ‘बेलिब्रिज निर्माणमा सफल भयौं, अब भार परीक्षण सफल भए पूर्ण सफलतामा पुग्छौं’ भनेर माथिल्लो निकायमा सुखद खबर सञ्चार गरेका थिए ।
नेपालमा अहिलेसम्मकै लामो बेलिब्रिज निर्माण भइरहेकाले एक सातायता भारतबाट विज्ञको टिम ल्याएर पनि राखेका थिए । उनीहरुले गरेको दिशानिर्देश अनुसार काम बढाइरहेका थिए । खुसीयाली मनाउने तयारी गरीरहँदा शनिबार बेलुकातिर कार्यरत मजदुरसहित जब बेलिब्रिज खस्यो उनलाई छाँगाबाट खसेजस्तै भएको छ ।
९९ प्रतिशत सफल भएर पनि एक प्रतिशतले धोका दिने रहेछ भन्ने अनुभूति पहिलो पटक गरेको र यसले चिन्तित बनाएको उनले सुनाए ।
अहिलेसम्म बेलिब्रिजको बिकल्प बेलिब्रिज नै भएकाले फेरि पनि यहाँ यही काम गर्नुपर्नेछ । तर, यो कसरी झर्यो भनेर विज्ञहरुलाई अध्ययन गराउने र अगाडि बढ्ने योजना उनको छ ।
मेची राजमार्ग अन्तर्गत झापादेखि ताप्लेजुङसम्मको सडकको नियमन सडक डिभिजन कार्यालय इलामले गर्दै आएको छ । ‘शनिबार झरेको बेलिब्रिजले चलिरहेको सडक अवरुद्ध गराएको छ,’ उनले भने, ‘पहिलो काम त्यसलाई पन्छाएर यातायात चलाउनु छ । पानी पर्न थालेकाले खोलामा बाढी आउला र डाइभर्सन बगाउला भन्ने चिन्ता छ । त्यसलाई व्यवस्थित गर्ने विषयमा पनि ध्यान दिइरहेका छौं । त्यसपछि यसको अध्ययन गरेर फेरि जडान गर्छौं ।’
माथिल्लो निकायबाट समेत अध्ययन गरेर पुन: निर्माण गर्ने कुरामा लाग्ने उनले बताए । सिङ्गल स्पाम रहेको यो बेलिब्रिज जडान सक्दा ७० मिटर लामो हुन्थ्यो । ३ करोड ४९ लाख रुपैयाँको लागतमा दोभान सुपर सौगाज जेभीले यो पुलको निर्माण गर्दै आएको थियो । वारीपारी दुईतिर बलियो संरचना बनाइसकेकाले विज्ञहरुद्वारा अध्ययनगरी आगामी कार्ययोजना बनाउने भट्टराई बताउँछन् । यो पुलले पूरै ताप्लेजुङ जिल्ला पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिका जोड्ने भएकाले पुल भत्किएपछि यस क्षेत्रका बासिन्दा चिन्तित रहेका छन् ।
बेलिब्रिज भाचिँदा कार्यरत मजदुरमध्येका तीनजनाको मृत्यू भएको र तीनजनाको उपचार भइरहेको पाँचथर प्रहरी कार्यालयले जनाएको छ ।
ईकान्तिपुर अनलाइनवाट साभार गरिएको