

ताप्लेजुङ – आवधिक योजनामा समेटिएका गाउँपालिका भित्रका १२ वटा ‘पालिका गौरवका आयोजना’ लाई प्राथमिकतामा राख्दै र ‘म मैवाखोलाको नागरिक हुँ’ भनेर गर्वगर्ने पालिका बनाउने उद्घोषका साथ मैवाखोला गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । योसँगै स्थानीय तहले आगामी आर्थिक वर्षकालागि बजेट बनाउने प्रकृयापनि सुरु गरेका हुन् ।
मैवाखोलाले नीति तथा कार्यक्रम ल्याएकै दिन पारित गर्ने नभई दफावार छलफल चलाउने प्रकृया अघिल्लो वर्षदेखि सुरु गरेको छ । गाउँपालिकाका १२ वटा गौरवका आयोजनाको सूची तयार गरी मध्यकालिक खर्च संरचना सहितको काम गर्ने उल्लेख छ । आर्थिक वर्ष २०८२-८३ मा प्रशासनिक भवन, १५ शैयाको प्राथमिक अस्पताल भवन सम्पन्न गर्ने उल्लेख गरिएको छ । बहुउद्देश्यीय कभर्ड हल, नारायणी मावि साँघु र मैवाखोला माविको छात्रवास, वाड्नं ३ को स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गर्ने उल्लेख छ । बसन्तपुर गुफा पोखरी साँघु, ताम्राङ देखि बुन्द्राङसम्मको सडक स्तरोन्नति गरी बाह्ै महिना चल्ने बनाउनुका साथै वाड्नं ५ र ६ जोड्ने नेरुवाखोला खार्तेको पक्की पुललाई गतिदिने उल्लेख छ ।
बिपद्का कारण विस्थापित ६५ परिवारको दिगो बसोवासको कार्यलाई गतिदिने, विद्युतको राष्ट्रिय प्रशारण लाईन सबै घरधुरीमा पुर्याउने नीति तथा कार्यक्रममा उल्लेख छ । अहिलेसम्म मैवाखोलामा ८५ प्रतिशत घरधुरीमा विद्युतसेवा पुगेको छ । कालोपत्रे सडक नभएको गाउँपालिकामा २ सय ४५ मिटर ट्रयाक खोलिएको छ । त्यसमध्येको २१.३ किलोमिटर सोलिङ छभनें २.६ किलोमिटरमा पक्की नाली र ५ किलोमिटर सडकमा ग्राभेल ओछ्याइएको छ । अर्ग्यानिक कृषि प्रणालीमा जोड दिने, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्बाधारलाई मुख्य प्राथमिकतामा राखिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सहभागितमूलक मागमा आधारित तथा पारदर्शिताका साथ योग्य आयोजनाको सूची सहितको आयोजना बैंक निर्माण गर्ने नीति गाउँपालिकाको छ । गाउँपालिकाले ‘म मैवाखोलाका नागरिक’ भनेर गर्व गर्नसक्ने शिक्षाको विकास गर्ने नीति लिएको छ । ‘गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष, सभ्यता, अनुशासित, प्रतिष्पर्धी, श्रम र उत्पादनप्रति सकारात्मक वैज्ञानिक सोच बोकेका नैतिकवान्, नवप्रवर्तक, रचनात्मक, सृजनात्मक, आफू मैवाखोलावासि भएकोमा गर्भ गर्ने सक्षम जनशक्तिको विकास गर्न सार्वजनिक शिक्षामा रुपान्तरण गर्नेछ’ नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रत्येक सामुदायिक विद्यालयलाई उद्यमशिल तथा आत्मनिर्भर बनाउने उल्लेख छ । कक्षा ११ र १२ लाई निशुल्क बनाइने पालिका अध्यक्ष वनेमद्धारा सार्वजनिक नीति तथा कार्यक्रममा उल्लेख छ । एक नगरपालिका र आठ गाउपालिका गरी नौ स्थानीय तह रहेको जिल्लाको यो पहिलो नीति तथा कार्यक्रम रहेको छ ।