०९ जेठ २०८२, शुक्रबार

तमोरको हेवा खोला डाइभर्सन बग्यो, यातायात अवरुद्ध

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, जेठ ०३, २०८२

पाँचथर — तमोर करिडोरको पाँचथर खण्ड अन्तर्गत पाँचथरको फिदिम र हिलिहाङलाई सिमाना छुट्याएर बग्ने होवा खोलामा बनाइएको डाइभर्सन बाढीले बगाएको छ ।

शुक्रबार बिहान आएको बाढीले डाइभर्सनका लागि लगाइएका ह्युमपाइप बगाएसँगै तमोर करिडोरको पाँचथर–ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको छ । यो सडक भएर यात्रुवाहकसँगै ठूला मालबाहक साधन आउजाउ गर्थे । शुक्रबार बिहान वर्षा भएसँगै खोला बढ्दा यहाँका ह्युमपाइप बगेका हुन् ।

ह्युमपाइप बगेसँगै तमोर करिडोर हुँदै पाँचथरको भालुचोक, सिंहापुर र थर्पुसँगै ताप्लेजुङका विभिन्न स्थानमा हिँडेका साधन मध्यपहाडी राजमार्ग हुँदै जोरसाल आएर मेची राजमार्गको बाटो समात्दै गन्तव्यतर्फ जान थालेका छन् ।

शुक्रबार बिहान भालुचोकदेखि सुभाङ खोला हुँदै हेवा खोला आइपुगेका यात्रुबाहक र मालबाहक साधन पनि पुनः अमरपुर फर्किएर मेची राजमार्ग हुँदै धरान, इलाम र झापातर्फ लागेका छन् ।

यहाँ लगाएको बेलिब्रिज पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएको थियो । त्यसपछि बनाइएको डाइभर्सन पुनः २०८१ असोज १२ गतेको बाढीले बगाएपछि पुन: ह्युमपाइप राखेर पानी कटाउँदै यातायात सुरु गराइएको थियो ।

यो सडकमा पर्ने खोलामा पुल बनाउने जिम्मेवारी तमोर करिडोर आयोजनाको हो । पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले शुक्रबारको बाढीले बगाएका ह्युमपाइप एक्स्काभेटरले तानेर पुनः मर्मत गर्दै यातायात सञ्चालन गर्न पहल भइरहेको बताए ।

‘मनसुन सक्रिय नहुँदा सम्म डाइभर्सन मर्मत गर्दै सडक सुचारु राख्न तमोर करिडोर आयोजनासँग कुराकानी भएको छ । उहाँहरू मर्मतका लागि सकारात्मक हुनुहुन्छ,’ प्रजिअ कोइरालाले भने ।

गत असोज महिनाको बाढीले बेलिब्रिज बगाएमध्ये मेची राजमार्गको हेवा खोला खण्डमा भने यातायात सञ्चालनमा छ । यस्तै, फिदिम फालौट खण्डमा पर्ने फेमे खोलामा भने डाइभर्सनको काम भर्खरै सुरु भएको छ । फेमे खोलामा पनि ह्युमपाइप लगाएर आवागमन सुरु गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066