१० जेठ २०८२, शनिबार

हराएका आठ ल्यापटप १६ महिनापछि ओडारमा भेटियो, प्रहरीले अभियुक्तको पहिचान गर्न सकेन

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, जेठ ०३, २०८२

ताप्लेजुङ — मैवाखोला गाउँपालिका-५ फाकुम्बाको पाटीडाँडा माध्यमिक विद्यालयबाट हराएका कम्प्युटर, ल्यापटपमध्ये आठवटा ल्यापटप ओडारभित्र बोरामा फेला परेको छ ।

२०८० पुस २२ गते राति विद्यालयबाट हराएका ११ थान ल्यापटप, चार थान डेस्कटप, मल्टिप्लक लगायतका उपकरणमध्ये आठवटा ल्यापटप १६ महिनापछि भेटिएको हो । तीमध्ये तीन थान ल्यापटप हराएको करिब तीन महिनापछि नै फेला परेर प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले बाँकी खोजीको क्रममा रहेको जनाएको थियो । विद्यालयका प्रधानाध्यापक गोपाल ठाकुरका अनुसार डेस्कटप कम्प्युटर, मल्टिप्लक लगायतमा सामान अझै भेटिएको छैन भने प्रहरीले यत्तिका समयसम्म अभियुक्तको पहिचान पनि गर्न सकेको छैन ।

प्रधानाध्यापक ठाकुरलाई गत वैशाख २९ गते मैवाखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष राजन थक्लुङले त्यो ठाउँमा सामान भएको आशंका गर्दै प्रहरी र वडाका प्रतिनिधिलाई समेत लिएर जान सल्लाह दिएका थिए । प्रधानाध्यापक ठाकुर त्यही सूचना र सल्लाहका आधारमा टोली लिएर गएका थिए । सानो जंगलको बीचमा रहेको ओडारमा गाहृो लगाएर बोरामा राखिएको अवस्थामा ल्यापटप फेला परेको थियो ।

‘पूर्वबाट पश्चिमतर्फ फर्किएको सानो ओडारजस्तो ढुंगा छ,’ प्रधानाध्यापक ठाकुरले भने, ‘त्यही ठाउँमा पश्चिमबाट ढुंगाको गाहृो लगाएर माथिबाट ढुंगाले नै छोपेर राखिएको रहेछ ।’ ल्यापटप राखेको सेतो बोराको केही भाग बाहिर निस्किएको जस्तो देखिएको उनले बताए ।

निवर्तमान अध्यक्ष थक्लुङले त्यही बोरा देखेर आशंका गरेको र विद्यालयलाई सूचना दिएको विद्यालयको बुझाई छ । यस विषयमा थप बुझ्न खोज्दा सुक्रबार भने थक्लुङको मोबाइल स्विच अफ थियो ।

तीनवटा ल्यापटप भने हराएको दुई महिनापछि फागुन महिनामा जंगलमा घाँस काट्ने क्रममा एक बालिकाले झ्यासमा फालेको देखेर शिक्षिका शान्ता आङ्वोहाङलाई खबर गरेकी थिइन् । विद्यार्थीको सूचनाका आधारमा पुगेका प्रधानाध्यापक ठाकुरले फालेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, इलाका प्रहरी कार्यालय दोभान र प्रहरी चौकी साँघुको टोलीले फरेन्सिक टेष्ट गर्नुपर्ने भन्दै पञ्जा लगाएर ती सामान उठाएका थिए ।

जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक कमल लुंगेलीलाई अनुसन्धानका लागि खटाएको थियो । विद्यालयका शिक्षक तथा प्रधानाध्यापकका अनुसार उनीहरुले विद्यार्थी, शिक्षक र अभिभावकसम्मलाई पटक/पटक सोधीखोजी गरेका थिए । त्यसबेला प्रहरीले नियन्त्रणमा लिएको ल्यापटपको अहिलसम्म फरेन्सिक टेष्टको कुनै नतिजा प्राप्त नभएको र ल्यापटप पनि फिर्ता नभएको विद्यालयले जनाएको छ । उनीहरुले प्रहरीमा रहेका ल्यापटप पाए विद्यालयलाई सहज हुने अनुरोध पटक/पटक गरेका थिए ।

शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत हृयुमन प्राक्टिस फाउण्डेसन (एचपिएफ) ले विद्यालयमा आईसीटी कक्षा सञ्चालनका लागि ल्यापटप र डेस्कटप सहितका कम्प्युटर उपलब्ध गराएको थियो । विद्यालयलाई उपलब्ध गराएको केही समयपछि कम्प्युटर चोरी भएको थियो ।

गाउँपालिकाका अध्यक्ष विजय वनेम आफूले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी नायव उपरीक्षकलाई यस घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिदिन र अभियुक्तलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको बताउँछन् ।

‍जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी विवेक बस्नेतले अनुसन्धान प्रकृया तीव्र रुपमा बढाइएको दाबी गरे ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066