

पाँचथर– नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार आफ्नै किचलोले ढल्ने बताएका छन् । आफू सरकार ढाल्न नलागेको बताउँदै प्रचण्डले सरकार रुझेको बिरालो जस्तो भएको टिप्पणी गरे । पाँचथर सदरमुकाम फिदिममा नेकपा (माओवादी) पाँचथरले आयोजना गरेको सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘हामी सरकार ढाल्ने खेलमा लागेका छैनौँ । यो सरकार आफ्नै किचलोले ढल्छ । राजनीतिक रूपमा भन्दापनि बिचौलियाले बनाएको सरकार भित्र समस्या छ’ उनले भने ‘जनतासँग टुट्न खोजेको सम्बन्ध सुधारमा हामी लागेका छौँ । उपनिर्वाचन, स्ववियु निर्वाचनले हामीलाई उत्साह दिएको छ ।’
अबको चुनावमा कुनै पार्टीको बैसाखी टेकेर चुनाव नलड्ने बताएका छन् । अर्को चुनावमा एक्लै लड्ने भएकाले तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
जनतासँग सम्बन्ध बाक्लो बनाउन हुलाकी राजमार्ग केन्द्रीत अभियान सकेर मध्यपहाडी लोकमार्ग तर्फ अभियान अगाडी बढाउन लागिएको बताए ।
‘कहिले काँग्रेसलाई र एमालेलाई ठुलो बनाउन सहयोग गर्यौ तर उनीहरूले हामीलाई सानो बनाउने प्रयास गरे । हामी जनता माझ गएका छौँ । २०६४ जसरीनै जनताको साथ पाउने छौँ’ दाहालको भनाई थियो ।
झन्डै दुई तिहाइ भएपनि सरकारमा डर रहेको बताएका थिए । ‘सरकारको राम्रो काम गर्ने उद्देश्य थिएन । नराम्रो गर्न केही गर्न बाँकी राखेको छैन । नेपाली जनतामा सरकार र सरकारको क्रियाकलाप प्रति आजित भएका छन्’ उनले थपे ‘कुकर्मको बोझले सरकार ढल्ने छ । ढल्छ ।’
कोशी प्रदेशको पुनः नामकरणका लागि आफूले प्रयास गर्ने दाबि समेत गरे । ‘संसदमा संख्या कम भएकोले नामाकरण भयो । अब जनमत अबको चुनावमा जनमत जुटाएर पुनः नामकरण गर्छौ’, दाहालले भने ‘यो उपस्थितिले उत्साहित छु । यही जिल्लाको संसदलाई प्रदेश सरकारको नेतृत्व दिलाउन मेरो प्रयास हुने छ । विगतमा केहि प्राविधिक कारणले मुख्यमन्त्री बनाउन सकिएन ।’ उनको भनाई प्रदेशका संसदीय दलका नेता इन्द्र बहादुर आङबोप्रति थियो ।
भष्ट्रचार विरुद्धको अभियान सुरु गरेकाले बिचौलियाले कांग्रेस एमालेको सरकार बनाएको दोहो¥याएका दाहालले देशव्यापी रूपमा भ्रष्टाचार विरुद्धको माहोल बनाउने दाबि गरे ।
सभालाई उपमहासचिव हरिबोल गजुरेल, केन्द्रीय सदस्य तथा प्रदेशका संसदीय दलका नेता इन्द्र बहादुर आङ्बो मौसम, प्रदेश अध्यक्ष हर्क नेम्बाङ मिक्सोले सम्बोधन गरेका थिए ।
सभामा विभिन्न ठाउँबाट नेता कार्यकर्ता पाँचथर सदरमुकाम फिदिम आएका थिए ।