१० जेठ २०८२, शनिबार

भ्यू टावर र शहीद गेटका नाममा माओवादीले देशैभरि बजेट फजुल खर्च गरेको योगेश भट्टराईको आरोप, दमक बिजनेश टावर पूर्वको व्यापारिक हब बन्ने दावी

Logo
Taplejung Press मंगलबार, बैशाख २३, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले देशमा फजुल खर्चका आयोजनाहरूमा बजेट हाल्न माओवादी पार्टी र तत्कालीन प्रधानमन्त्री प्रचण्ड अग्रपंक्तिमा रहेको बताएका छन् ।

प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै एमाले सांसद भट्टराईले सोमवार विपक्षी दलका नेता प्रचण्डले सरकारमाथि लगाएको आरोपको प्रतिवाद गरेका हुन् ।

भट्टराईले दमकको बिजनेश टावरको विरोध गर्ने माओवादीले देशैभर भ्यू टावर र शहीद गेटका नाममा बजेट खेर फालेको दाबी गरे । उनले सुनसरी मोरङ र झापाको जनसंख्या तथा भारतको समेत सम्बन्धका कारण दमकको व्यापारिक टावर भविष्यमा व्यापारिक केन्द्र बन्न सक्ने बताए ।

उनले माओवादी पहिलो पटक सरकारमा गएकै बेला युवा स्वरोजगार कोषबाट बिना धितो र बिना कागज सहकारीका नाममा गएको करोडौँ रकम अहिले पनि महालेखाले बेरुजुमा राखेको स्मरण गराए ।

नेता भट्टराईले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउँदा प्रचण्डको मुटुमा किला ठोकेजस्तो किन भएको भनी प्रश्न समेत गरे ।

उनले भने- ‘सरकारले एउटा सहसचिव सरहको कर्मचारीलाई काममा ट्युनिङ मिलेन भनेर मन्त्रीको प्रस्तावमा हटायो तर तपाईँको मुटुमा किला ठोके जस्तो किन भयो ? यो सरकारले त एउटा सहसचिव सरहको कर्मचारी हटायो तपाईँले त प्रधान सेनापति नै हटाउनुभएको होइन ? एक पटक सम्झिनुस् त कसरी हटाउनु भएको थियो ? अस्तिकै कार्यकालमा पनि मुख्य सचिव हटाएर हुँदै नभएको पद राष्ट्रिय सुरक्षा परिषदको सल्लाकार पोष्ट खडा गर्नुभयो । तपाईँले अर्को मुख्य सचिव ल्याउनुथियो, अनि त्यसो गर्न मिल्थ्यो ?’

भट्टराईले सरकारको नीति तथा कार्यक्रम विगतको जस्तो भद्दा र कार्यान्वयन नहुने खालको नभई यसपटक फरक ढंगले आएको बताए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066