

ताप्लेजुङ – उद्योग वाणिज्य संघ ताप्लेजुङको निर्वाचनका लागि सत्तासीन दल काँग्रेस र एमाले मिलेर अगाडि बढ्ने निर्णय गरेका छन् । दुई पार्टीका जिल्ला नेताले पद बाँडफाँड समेत गरेका छन् । एमाले कार्यवाहक अध्यक्ष दिपेन पोमु र काँग्रेस उपसभापति डिल्लीरमण बरालले गरेको सहमति अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव र आठजना सदस्य एमालेले पाउने छ ।
द्विदलीय सहमतिमा एमाले उपसचिव गोपाल न्यौपाने र भिमादेवी ओझा तथा काँग्रेस सचिव गणेश बाबु निरौला सहसचिव जङ्ग सुनुवार र कोषाध्यक्ष तारा बरालले हस्ताक्षर गरेका छन् ।
प्रथम, तृतीय उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ सदस्य काङ्ग्रेसले पाउनेगरी सहमति भएको छ । उद्योग वाणिज्य सङ्घमा अध्यक्ष तीन उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र १४ जना सदस्य निर्वाचीत हुने प्रावधान छ । एक वरिष्ठ उपाध्यक्ष र चारजना सदस्य निर्वाचित अध्यक्षले चयन गर्नेछन् ।
एमालेको भागमा परेको अध्यक्षका लागि वर्तमान कोषाध्यक्ष विकास गौतम अध्यक्षको उम्मेद्वार बन्ने भएका छन् । वर्तमान बरिष्ठ उपाध्यक्ष दावा शेर्पाले अध्यक्षमा मनोनयन दर्ता गरिसकेका छन् । दावा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सहसंयोजक पनि हुन् । सोमवार मनोनयन दर्ताको दिन रहेको छ । निर्वाचन भने १६ गतेलाई तोकिएको छ । उद्योग वाणिज्य संघमा ६ सय ३४ मतदाता रहेका छन् ।