२३ भाद्र २०८२, मंगलबार

पाथीभरामा मान्छे बोक्ने भरिया ताप्लेजुङकै मात्रै ? कार्यकारी भन्छन् ः ऐन कानूनसँग बाझिने गरि कार्यविधि बन्दैन 

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शुक्रबार, कार्तिक १६, २०८१

ताप्लेजुङ – यातायात सुविधा नपुगेको पाथीभरामा मान्छेलाई बोकेर मन्दिरसम्म पुर्याउने र फर्काउने प्रयोजनका लागि तीन सय वढी मजदुर (भरिया) क्रियाशील छन् । उनीहरूले प्रतिकिलो २ सय रुपैयाँका दरले शुल्क लिएर काफ्‌लेपाटी देखि मन्दिरसम्म पुर्याउछन्  र फर्काउँछन्
यसरी मान्छे बोक्नेमा गृह जिल्ला ताप्लेजुङ, छिमेकी पाँचथर, तेह्रथुम, सङ्खुवासभा देखि सिन्धुली सम्मका छन् । पाथीभरा क्षेत्र विकास समिति र फुङलिङ नगरपालिकाले यहा सिन्डिकेट लगाउने तयारी गरेका छन् । जुन नेपालको संविधानको भावना विपरित छ । पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेका अनुसार ताप्लेजुङकैले मात्रै बोक्न पाउनेगरि कार्यविधि बनाउने तयारी गरिएको छ ।
फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन, नेपाल सरकारबाट गठित क्षेत्र विकास समिति, नागरिक स्तरबाट गठित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति, माथिल्लो फेदी होटल व्यवसायी सङ्घ र केही भरियाहरूको समेत संलग्नतामा यस्तो छलफल भएको हो । क्षेत्र विकास समितिका अध्यक्ष थेवेका अनुसार भरिया व्यवस्थापन कार्यविधिमा भरियाको बिमा गर्ने, भरियाको तीन पुस्ते विवरण राख्ने, भरियाको स्वास्थ्य परिक्षण गर्ने, भरियाको उमेर हदबन्दी राख्ने, भरियाको आधिकारिक पोसाक लागू गरिने विषयमा छलफल भएको छ ।
यस्तै भरियालाई सरसामान तथा तीर्थयात्री बोक्नका लागि चाहिने आवश्यक बस्तुको व्यवस्था गर्ने, जिल्ला बाहिरका भरियालाई अनुमति नदिने, किसिमको आधारमा बोक्ने सामानको मूल्य निर्धारण गर्ने र जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङको सहयोगमा ठुलो फेदिमा भरियाहरू लाई मादक पदार्थ जा“च गर्ने  विषयमा छलफल भएको छ । कार्यविधिमा यी विषयलाई समेटिने छ ।
क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङभने छलफल भएको तर संविधान, ऐन कानूनस“ग बाझिने गरी कार्यविधि नबन्ने बताउँछन् । ‘हामीले भरिया सम्बन्धी कार्यविधि बनाउनै पर्ने छ, मेयर सावले बाहिर जिल्लाकाले पाउदैनन् भन्नुभएको हो, तर संविधान ऐन कानुन सँग बाझिनेगरी कार्यविधि बन्दैन’ हाङवाङले भने । नेपालको कानुनले देशभरी जुनसुकै ठाउँमा गएर पेशा व्यवसाय, रोजगारी गर्न पाउने ब्यवस्था रहेको छ । त्यसैले यो भनाई कार्यान्वयन हुन कठिन रहेको कानुन व्यवसायी सन्तोष प्रसाईं वताउछन् ।
३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरा पुग्न मोटरबाटो पुग्ने काफ्लेपाटीवाट ५ किलोमिटर उकालो चड्नु पर्छ । उच्च लेकाली क्षेत्रमा पुगेर फर्कन कठिन हुनेले बोकिएर गएर फर्कने गरेका छन् । मन्दिर जानेले आफ्नो सामान बोकाउने पनि गरेका छन् । मान्छे बोक्नेको तुलनामा सामानको मूल्य कम रहेको छ । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!