२१ भाद्र २०८२, आइतबार

एमाले केन्द्रीय सदस्य पासाङ शेर्पालाई बहुविवाह कसुरमा एक वर्ष कैद

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, आश्विन २७, २०८१

नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई बहुविवाह गरेको कसुरमा एक वर्ष जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना गर्ने जिल्ला अदालतको फैसला उच्च अदालतबाट पनि सदर भएको छ । काठमाडौं जिल्ला अदालतले गरेको फैसला उच्च अदालत पाटनले पनि सदर गरेको हाे । उच्च अदालत पाटनले यही ६ असोजमा र जिल्ला अदालतले २३ चैत २०७९ मा त्यस्तो फैसला गरेका हुन् ।

शेर्पाकी श्रीमती करिश्मा खरेलले शेर्पा र उनकी अर्की श्रीमती पूजा परियारविरुद्ध जिल्ला अदालत काठमाडाैंमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् । साे मुद्दामा जिल्ला अदालतले पासाङ शेर्पा र करिश्मा खरेलबीच २९ असार २०६२ मा र पासाङ शेर्पा र पूजा परियारबीच २८ मंसिर २०६३ मा विवाह भएको ठहर गरेको छ । जिल्लाको फैसलामा भनिएको छ, ‘पासाङ शेर्पाले निजकी पत्नी यी जाहेरवालासँगको दाम्पत्य सम्बन्ध कायम रहेकै अवस्थामा पूजा परियारसँग विवाह गरी मुलुकी ऐन बिहेबारीको महलको ९ नम्बरको कसुर गरेको देखिँदा निजलाई ऐ. को दफा १० बमोजिम १ वर्ष कैद र रु. ५ हजार जरिवाना हुने ठहर्छ ।’

शेर्पासँग विवाह गरेकी पूजा परियारको हकमा भने जिल्ला अदालतले सफाइ दिएको थियो । उच्च अदालत पाटनले पनि उक्त फैसला सदर गरेको छ ।

पूजाको हकमा जिल्ला अदालतको फैसलामा भनिएको छ, ‘अर्का प्रतिवादी पूजा परियारको हकमा विचार गर्दा निजले पासाङ शेर्पासँग विवाह गरेको कुरालाई स्वीकार गरेको भए पनि पासाङ शेर्पाकी अर्की पत्नी यी जाहेरवाला भएको कुरा थाहा थिएन भनी कसुरमा इन्कार रही बयान गरेको देखिन्छ भने सो इन्कारी जिकिरलाई समर्थन गरी निजका साक्षीले अदालतमा आई बकपत्रसमेत गरेको देखिन्छ । पूजा परियारसँग विवाह गर्नुअघि पासाङ शेर्पाले यी जाहेरवालालाई विवाह गरेको कुरा थाहा पाइपाइ निजसँग विवाह गरेको पुष्टि हुने अन्य ठोस प्रमाण पेस हुन सकेको देखिँदैन । यसरी प्रतिवादी पूजा परियारलाई पासाङ शेर्पाकी पत्नी यी जाहेरवाला भएको कुरा थाहा पाइपाइ निजले पासाङ शेर्पासँग विवाह गरेको पुष्टि हुने ठोस प्रमाणको अभावमा निजले कसुरबाट सफाइ पाउने ठहर्छ ।’

शेर्पाकी जेठी श्रीमती करिश्मा खरेलबाट छोरी प्रेरणा शेर्पा र छोरा प्रतीक शेर्पा छन् । कान्छी श्रीमती पूजा परियारतर्फबाट छोरी पेमा डोमा शेर्पा र छोरा छिरिङ शेर्पा छन् ।

खरेलले शेर्पा र परियारबीच भएको विवाह बदर गर्न माग गरेको भए पनि जिल्ला अदालतले बदर गर्न अस्वीकार गरेको छ । जिल्ला अदालतको फैसलामा भनिएको छ, ‘पासाङ शेर्पा र पूजा परियारबीच भएको विवाह मुलुकी अपराध संहिता, २०७४ को दफा १७६(३) बमोजिम बदर गरी पाऊँ भन्ने व्यहोरा अभियोगपत्रमा उल्लेख भए पनि निज प्रतिवादीहरूबीच भएको विवाह मुलुकी अपराध संहिता २०७४ लागू हुनुपूर्वको देखिँदा उक्त विवाह बदर गरी पाऊँ भन्ने दाबी पुग्न सक्दैन ।’

उच्च अदालत पाटनले पनि जिल्लाको फैसलालाई नै सदर गरेकाले शेर्पा र परियारको विवाह भने बदर गरेको छैन ।

जिल्ला अदालतले शेर्पालाई एक वर्ष सजाय र ५ हजार जरिवाना तोकेपछि शेर्पा उच्च अदालत पाटनमा पुगेका थिए । उच्चले पनि जिल्ला अदालतको फैसला सदर गरेकाले एमालेका केन्द्रीय सदस्य शेर्पा जेल जानेछन् ।

खरेलले काठमाडौंमा जिल्ला अदालतमा मुद्दा दिनुभन्दा पहिला जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा १५ मंसिर २०७३ मा आफ्नो श्रीमान् पासाङ शेर्पा पूजा परियारसँग विवाह गरेर सम्पर्कविहीन भएको भन्दै निवेदन दिएकी थिइन् ।

अदालतमा मुद्दा परेपछि शेर्पा केही समय फरार रहे पनि पछि प्रत्युत्तर फर्काएर अदालतमा हाजिर भएका थिए । उनी ९ जेठ २०७६ मा १ लाख १८ हजार रुपैयाँ धरौटी राखी तारेखमा छुटेका थिए ।

शेर्पाले करिश्मा खरेलको सहमतिमा पूजा परियारसँग विवाह गरेको दाबी गर्दै आएका थिए । नेपालको कानुनले अघिल्लो श्रीमतीको सहमतिमा अर्को विवाह गर्न दिँदैन । तर, शेर्पाले खरेलसँग विवाह जेठी श्रीमती छिरिङ छोप्की शेर्पा हुँदै विवाह गरेको बताएका छन् । उनले अदालतमा जेठो श्रीमती छिरिङ छोप्की शेर्पा बिमारी भएकाले कान्छी श्रीमती करिश्मा खरेलसँग विवाह गरेको अदालतमा नै बयान दिएका थिए । जेठो श्रीमती छिरिङ छोप्की शेर्पाको मृत्यु भएको पनि बयानमा उल्लेख गरेका थिए ।

दोस्रो श्रीमतीको मञ्जुरीमा तेस्रो विवाह गरेको भने पनि दोस्रो श्रीमतीले बहुविवाहको मुद्दा हालेपछि उनलाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले १ वर्षको कैद र ५ हजार जरिवाना तिराउने फैसला गरेको छ ।

शेर्पाले खरेलसँगको विवाह दर्ता काठमाडौं महानगरपालिकामा गरेका थिए भने कान्छी श्रीमती पूजा परियारसँगको विवाह दर्ता ताप्लेजुङ जिल्लामा गरेको फैसलामा उल्लेख छ ।

शेर्पाकी जेठी श्रीमतीबाट ३ छोरी १ छोरा, माइलीबाट एक छोरा एक छोरी र तेस्रो श्रीमती पूजाबाट एक छोरा र एक छोरी छन् ।

को हुन त शेर्पा ?

नेकपा एमालेको केन्द्रीय सदस्य हुन् पासाङ शेर्पा । उनी आदिवासी जनजाति महासंघको अध्यक्ष पनि भएका थिए । पहिलो संविधानसभामा एमालेका सांसद हुन् । संविधानसभामा रहँदा उनी चर्चित नेता थिए । संविधान निर्माणमा पनि उनकाे प्रभावशाली भूमिका थियो ।

उनी एमालेको ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चको कोषाध्यक्ष बने । त्यसपछि उनी पहिचानवादीहुँदै बाबुराम भट्टराईको नयाँ शक्तिमा सामेल भए । फेरि फर्केर एमालेमा आए । एमालेको १०औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य चयन भएका हुन् ।

यो समचार शिलापत्र अनलाईन वाट साभार गरिएको हो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!