

ताप्लेजुङ – अन्तराष्ट्रिय रेडपान्डा दिवसको अवसरमा आयोजित म्याराथन प्रतियोगितामा ताप्लेजुङको फुङलिङ नगरपालिका ६ की कुमारी गुरुङले ६ घण्टा १२ मिनेटको रेकर्ड छोडेकी छन् । महिला तर्फको उपाधि जितेकी उनले ४८ किलोमिटरको निर्धारित दूरी पार गर्दै नगद ५० हजार पुरस्कार हात पारिन । ६ घण्टा २९ मिनेटमा निर्धारित दूरी पार गरेकी ओखलढुङ्गाकी लाक्पा ङिमा शेर्पा दोश्रो भइन । उनले ३० हजार पाइन । ताप्लेजुङकी दासाङकी शेर्पा तेश्रो भइन र २० हजार हात पारिन । उनले ६ घण्टा ३७ मिनेटमा दूरी पार गरिन् ।
पाथीभरामा अन्तराष्ट्रिय म्याराथन पटकपटक भएपनि महिला तर्फभने हाफ म्याराथन मात्रै हुँदै आएको थियो । पहिलो पटक भएको फुल म्याराथनको नयाँ रेकर्ड रहेको हो । यो वर्षको समग्र तर्फको उपाधि पाँचथरका विशाल राईले जितेका छन् । ५१ जना सहभागी प्रतियोगितामा ५० जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले एक लाख राशिको उपाधि जिते । उनले ४ घण्टा १६ मिनेटमा निर्धारित दूरी पार गरेका थिए । तर यस अघिको रेकर्ड भने तोड्न सकेनन् । यस अघिको रेकर्ड ४ घण्टा १३ मिनेटको छ । आफूभन्दा अगाडि रहेका प्रतिस्पर्धीलाई विशालले तीन सय मिटर बाँकी रहँदा उछिनेर उपाधि जितेका हुन । राई भन्दा एक मिनेट ढिलो ४ घण्टा १७ मिनेटमा गन्तव्यमा पुगेका बझाङका करण रावल पुरुष तर्फको प्रथम बने । उनले ५० हजार रुपैयाँमा चित्त बुझाउनु पर्यो ।
पुरुष तर्फ ताप्लेजुङका रमेश लिम्बू द्वितीय र सोलुखुम्बुका अर्जुन कुलुङ तृतीय भए । रमेशले ४ घण्टा २६ मिनेट र अर्जुनले ४ घण्टा ३१ मिनेटमा दूरी पार गरेको निर्णयक मण्डलका संयोजक प्रेम लंवाले बताए । पुरुष तथा महिला तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ५०, ३० र २० हजार पुरस्कार पाएका छन् । स्थानीय प्रतिस्पर्धीको रुपमा पाँचथरका राजन मेन्याङबो प्रथम, ताप्लेजुङका सञ्चवहादुर शेर्पा र दीपक राई द्वितीय र तृतीय भए । उनीहरूले १५, १० र ५ हजार पुरस्कार पाए । रेडपान्डा पाइने ताप्लेजुङ, पाँचथर र इलामका प्रतिस्पर्धीलाई लोकल प्रतिस्पर्धीको रुपमा पुरस्कृत गरिएको थियो ।
निर्णायक मण्डलका संयोजक लंवाका अनुसार ४० पुरुष र ११ महिला प्रतिष्पर्धामा थिए । सदरमुकाम फुङलिङबाट ३ हजार ७ सय ९४ मिटर उचाइँमा रहेको पाथीभरा धाम पुगेर फर्कन ४८ किलोमिटर दूरी निर्धारण गरिएको थियो । आयोजकले चार विधामा पुरस्कार वितरण गरेको हो । सबैभन्दा पहिला गन्तव्यमा पुग्नलाई सर्वोत्कृष्ट धावकको रुपमा एक लाख दिइयो । त्यसपछि निर्धातिर दूरी पार गर्ने पुरुष भए क्रमश पहिलो, दोश्रो र तेश्रो बनाइयो । त्यसपछि पनि अगाडि स्थानीय आइपुगे उनिहरुलाई स्थानीय पहिलो, दोश्रो र तेश्रो बनाइयो । महिलाको पनि यसरीनै छुट्याइएको हो ।
सबै प्रतिस्पर्धीलाई सदरमुकाम फुङलिङको तोक्मेडाँडा बाट एकसाथ कुदाइएको थियो । पुरुषको तुलनामा पहलिा प्रतिष्पर्धि दुई घण्टा ढिलो गन्तव्यमा पुगेका छन् । पाथीभरामा यसअघि पनि म्याराथन प्रतियोगिता भएको थियो । तर महिलाको हकमा भने पहिलो पटक पुरै म्याराथन भएको हो । कुमारीले पार गरेको दूरी अवका प्रतिष्पर्धिका लागि रेकर्ड भएको छ । कुमारी गत जेठमा भएको ताप्लेजुङ महिला हाफ म्याराथनमा दोश्रो भएकी थिएन । हरेक सेप्टेम्बर महिनाको तेश्रो सनिवार लाई रेडपान्डा डे को रुपमा मनाउने गरिएको छ । रेडपान्डा नेटवर्क र फुङलिङ नगरपालिकाको सहयोगमा हिमाली संरक्षण मञ्चले यो प्रतियोगिता आयोजना गरेको हो ।