

ताप्लेजुङ -तिम्बुङ पोखरी क्षेत्रको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले भाद्र २६ गते तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता आयोजना गरिएको छ । हरेक वर्ष कुनै न कुनै कार्यक्रम गर्ने आयोजकले यसवर्ष ४२ सय देखि ४३ सय ५० मिटर उचाइमा रनको आयोजना गरेको हो । विजेताले ३०, उपविजेताले २० र तेश्रो हुनेले १० हजार पुरस्कार पाउने छन् । प्रतियोगिता भाद्र २६ गते बिहान हुने तिम्बुङपोखरी संरक्षण समितिका सल्लाहकार कैलाश राईले जानकारी दिए ।
विहीवार बिहान आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार रनमा ८ किलोमिटर दौडनु पर्ने छ । ताप्लेजुङमा यति धेरै उचाइमा हुन लागेको यो पहिलो रन भएकोपनि उनको दावी छ । ट्रेल बनाएको र तेर्छो तेर्छो भाग भएकाले रनको तयारी गरिएको कैलाश बताउँछन् । कालिखोला देखि तिम्बुङ पोखरी सम्मको अल्ट्रा म्याराथन गराउने योजना आयोजकको थियो । यसवर्ष तयारी नपुगेकाले रन गराउन लागेको उनले बताए ।
भदौदेखि कार्तिकसम्म घुम्न सकिने यो क्षेत्रको भ्रमणमा आउन समितिले आब्हानपनि गरेको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा राईले चौरीका गोठ, भेडाको बथान, केञ्जो लगायतका फुल र पोखरी नै पोखरीको राजधानी यो क्षेत्रमा घुम्ने उपयुक्त सिजन भएकाले भ्रमणकालागि आव्हान गरिएको बताए । ट्रेकिङकालागि उपयुक्त मानिने यो सिजनमा यो क्षेत्र उपयुक्त क्षेत्र मानिन्छ ।
बर्षालाई रोक्न प्लास्टिक बोक्ने, छाता ओड्ने, ट्रेकिङको लौरो टेक्दै उकाली ओराली गर्नेहरू भेटिने गरेका छन् । कार्तिकपछि भने हिउँ पर्ने र चिसो हुने भएकाले भ्रमण गर्न कठिन हुने गरेको छ । तर यो क्षेत्रको अध्ययन गर्नेहरू भने हिउँ पर्दापनि जाने गरेका छन् ।