

ताप्लेजुङ – ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा सहभागी हुन आएका पाहुना तीन टिम ताप्लेजुङमै छन् । चार टिम भने पराजय बेहोरेर फर्किएका छन् । जिल्लामा रहेका तीन टिमलाई होटलमा राखिएको छ भने आयोजक टिम आफ्नै व्यवस्थापनमा होटल सेन्ट्रलमा बसेको छ । खेलाडीहरूले दिनमा कति पैसाको कस्तो खाना खान्छन् ?
ओचार्ड होटल एण्ड गेस्ट हाउसका सञ्चालक सुरेश सिंघक दिनमा खाना र खाजा गरी दिनमा चार पटक खुवाउने बताउँछन् । सिंघकका अनुसार बिहान ब्रेक फास्ट हुन्छ । जसमा चना, अण्डा, चिया, अम्लेट, ब्रेड लगायत दिइन्छ । खेलाडीको चाहना अनुसार हरेक दिन परिवर्तन हुन्छ । बिहान सादा खाना खुवाइन्छ । दिउसो खेलबाट फर्किएपछि आफ्नो इच्छानुसारको खाजा खान्छन् । जसमा मम, चाउमिन, थुक्पा पनि पर्छ । बेलुका भने मासु भात खुवाइन्छ । धेरैजसो लोकल कुखुरा, खसिको मासु धेरै प्रयोग हुन्छ । दिनमा चार पटक खाना दिएर सुत्ने प्रबन्ध गरे बापत होटल सञ्चालकले जनही एक हजार रुपैयाँ पाउछन् । ‘हाम्रो त समाज सेवा जस्तै हो,’ सिंघकले भने, ‘जिल्लाको प्रतियोगिता हो गर्नै पर्यो नी ।’
आफूले सिस्नुको दाल लगायतका नयाँ आइटम पनि हरेक दिन परिवर्तन गरेर खुवाईरहेको सिंघकले बताए । ‘सिस्नुको दाल नेपालीले चाही मन पराए तर विदेशीले मन पराउने रहेन छन्’ सिंघकले भने । मधेश प्रदेशको सलहेस युथ क्लब सिंघकको ओचार्डमा छ । सगरमाथा युथ क्लब मोरङ होटल नाङ्लोमा छ । बिर्तामोड युनाइटेड क्लब झापा होटल अन्नपूर्णमा छ । भारतको सिलिगुडीबाट आएको कञ्चनजङ्घा, पाँचथर, लुम्बिनीको बुटबलका टिम फर्किसकेका छन् ।
खेलाडीलाई आयोजकले खेलको अघिल्लो दिन, खेलेको दिन र खेलेको भोलिपल्टको भत्ता दिने गरेका छन् । कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार प्रति खेलाडी १२ सय ५० का दरले दिइन्छ । खेलाडीले होटललाई भने २ सय ५० कम गरेर एक हजार रुपैयाँ तिछर्न । एउटा टिममा प्रशिक्षक, अतिरिक्त खेलाडी समेत गरी १९ जना समावेश हुन्छन् ।