
ताप्लेजुङ – हिमाली संरक्षण मञ्चले असोज पहिलो साता रेडपान्डा म्याराथन गर्ने तयारी गरेको छ । विश्वमै दुर्लभ रेडपान्डाको संरक्षण सन्देश सहित म्याराथनको तयारी गरेको हो ।
असोज ५ गते (सेप्टेम्बर २१ तारेख) रेडपान्डा संरक्षण दिवस पर्छ । यही अवसरमा प्रतियोगिताको तयारी गरेको जनाइएको छ । म्याराथनका लागि रेडपान्डा नेटवर्क र फुङलिङ नगरपालिकाले सहयोग गर्ने भएका छन । ‘हामी बजेट बनाउने र एक दिनको कि दुई दिनको कार्यक्रम गर्ने भनेर छलफल गरिरहेका छौ,’ हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले भने, ‘चाडै निष्कर्षमा पुगेर कार्यक्रम सार्वजनिक गछौ ।’
म्याराथनका लागि नगरपालिकाले ५ लाख बजेट विनियोजन गरिदिएको नगरपालिका प्रमुख अमिर मादेन बताउँछन । रेडपान्डा नेटवर्कले १० लाख रुपैयाको कार्यक्रम राखेको छ । विगतमा जस्तै सदरमुकाम फुङलिङबाट सुकेटार बिमानस्थल हुदै पाथीभरा मन्दिर पुगेर सदरमुकाम आइपुग्ने गरीको खुला र सदरमुकाम बाट काफ्लेपाटी भएर सदरमुकाम पुग्ने महिला हाफ म्याराथन गर्ने तयारी आयोजकले गरेको हो ।
म्याराथनसगै साँगीतिक तथा सांस्कृतिक कार्यक्रम पनि गरेर दुई दिनको रेडपान्डा महोत्सव मनाउन सुझाव पनि आइरहेको राईले बताए । म्याराथन मात्रै भए एकदिनको कार्यक्रम हुनेछ । पाथीभरा क्षेत्रमा रेडपान्डा पाइने र यो क्षेत्रमा संरक्षणको काम पनि भइरहेकाले म्याराथनका लागि पनि यही क्षेत्र रोजिएको मञ्चले जनाएको छ । सदरमुकाम बाट पाथीभराको मार्गमा २०६२ सालदेखि म्याराथन हुदै आएको छ ।