नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ । नौ स्थानीय तहमध्ये सात पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने दुई पालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो ।
जिल्लाको एकमात्र नगरपालिका फुङ्लिङ नगरपालिकाको सभापतिमा विनोद गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै, मिक्वाखोला गाउँपालिकामा पञ्च थलङ, आठराई त्रिवेणीमा सोम बिमली, फक्ताङलुङमा दिलकुमार लिम्बू, सिदिङ्वामा डेनी तामाङ, सिरिजङ्गामा पूर्णसिंह मावो लिम्बू र मैवाखोलामा टीकारा कार्की सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ ।
पाथीभरा याङवरक गाउँपालिकामा भने पालिका सभापतिका लागि निर्वाचन भएको थियो । नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य राजकुमार कार्की (राज) र नेविसङ्घका कार्यवाहक जिल्ला अध्यक्ष अर्जुन खिम्दिङबिच भएको प्रतिस्पर्धामा खिम्दिङ चार मतको अन्तरले विजयी हुनुभएको हो ।
त्यस्तै, मेरिङ्देन गाउँपालिकाको सभापतिमा विशाल लङ्वा निर्वाचित हुनुभएको छ । लङ्वाले ६३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी मेघराज चोङ्बाङले ४७ मत प्राप्त गर्दै १६ मतले पराजित हुनुभएको हो ।
