आश्विन ९, २०८३
ताप्लेजुङ – बिहीबार दोभान बजारमा भएको आगलागीबाट १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट घर सहित किराना पसल, भाँडावर्तन, लत्ता कपडा र पसलका सामान, अलैँची जलेको छ ।
बिहीबार दिउँसो १ बजेदेखि दोभान बजारमा आगलागी भएको थियो । मेरिङदेन गाउँपालिका ३ का याम लिम्बुको घर समेतको ८० लाख, घनश्याम खरेलको घर, पसल समेतको दुई करोड, राजु शेर्पा भन्ने आङमिङमा शेर्पाको घर समेत ३५ लाख, राजुकोमा भाडामा बस्नेहरू अनुष्का आङबुहाङको नौ लाख, मोहन आङबुहाङको मासु पसलको दुई लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए ।
यस्तै, सुकवीर लिम्बुको घर सहित ३१ लाख ५० हजार, सुकविरकोमा भाडामा बस्ने पवन लिम्बुको मासु पसलमा एक लाख ५० हजार, हरि प्रसाद तामाङको मासु पसलको एक लाख, कमला बर्देवाको कपडा पसलको तिन लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
डन्डु शेर्पाको घर जल्दा दुई करोड, भीम लिम्बुको दुई वटा घर जल्दा ९० लाख, भीमकोमा भाडामा बस्ने श्याम लिम्बुको होटलको २५ लाख, सुमन लिम्बुको होटलको २५ लाख, लाक्पा शेर्पाको होटलको ३० लाख, गहतराजको सुनचाँदी पसलको ५० लाख, योगेन शेर्पाको पसलको १० लाख, फुर्वा शेर्पाको १ लाख ५० हजार, सविन चुडालको किराना पसलको २० लाख, लक्ष्मी लिम्बुको १० लाख, घनश्याम खरेलको १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको उल्लेख छ ।
राजेन्द्र पौडेलको पक्की घर र घरमा रहेको किराना पसल गरी एक करोड ३० लाख, चन्द्र पौडेलको पक्की घर किराना पसलको पाँच करोड क्षति भएको प्रहरी निरीक्षक यादवले बताए । आगलागीबाट धेरैको नगदसमेत जलेको व्यवसायीले बताएका छन् ।
विद्युत सर्टभई आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय लाक्पाचुङ शेर्पा (डण्डु) को घरमा विद्युत सर्ट भएको थियो । आगलागीबाट आठ घर पूर्णरुपमा जलेर नष्ट भएको छभने दुई घरमा आंशिक क्षति पुगेको छ । आगलागीबाट घरधनी आठ परिवार र कोठा भाडामा बस्ने सात गरी १५ परिवार विस्थापित भएका छन् ।
आगलागी सुरु भएको डन्डु शेर्पाको परिवारसँगै, भीम लङ्वा लिम्बू, चन्द्रप्रसाद पौडेल, यामबहादुर आङ्बुहाङ, घनश्याम खरेल, राजु शेर्पा, सुकबिर लिम्बू र राजेन्द्रप्रसाद पौडेलको परिवार विस्थापित छन् । भाडामा बस्ने अनिसा आङवोहाङ, सनम लिम्बू, लाक्पा शेर्पा, श्याम चोङ्वाङ, आरती लिम्बू, काशीनाथ चुडाल, बिनु लिम्बू, मोहन लिम्बू र खम्बासिंह लिम्बूको परिवार पनि विस्थापित छन् । उनीहरू आफन्तकोमा बसिरहेको दोभानका व्यवसायी टङ्क खतिवडाले जानकारी दिए ।
दोभान बजारमा २०७७ फागुन १८ गते पनि आगलागी भएको थियो । त्यसबेला ४९ घर जलेका थिए । ४० करोड रुपियाँ बढीको क्षतिभएको थियो । यो सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठुलो व्यापारिक कारोबार हुने बजार हो ।
