भाद्र ३१, २०८३
ताप्लेजुङ – नेपाली काँग्रेस ताप्लेजुङलाई अधिवेशन लागेको छ । असोज ४ मा जिल्लाका सबै ६१ वटै वडामा एकसाथ अधिवेशन गर्ने निर्णय भएको छ ।
ताप्लेजुङका पदाधिकारी, उपलब्ध महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यको परामर्श बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला कार्य समितिका सभापति गजेन्द्र प्रसाद तुम्याहाङका अनुसार जिल्ला अधिवेशनकालागि असोज १ र १२ गते पूर्ण बैठक बस्ने निर्णय भएको छ ।
१ गतेको बैठकले वडाकालागि निर्वाचन समिति परिचालन गर्नेछ ।
जिल्ला कार्य समितिले सेवा निवृत्त शिक्षक, कर्मचारी, प्राध्यापक, कानुन व्यवसायीलाई निर्वाचन अधिकृतको रुपमा खटाउने प्रावधान रहेको छ ।
जिल्ला कार्य समितिले तय गरेका व्यक्तिलाई केन्द्रीय प्रतिनिधिले नियुक्ति दिएर खटाउने प्रावधान रहेको सभापति तुम्याहाङले जानकारी दिए ।
असोज १ र १२ गतेकालागि जिल्ला कार्य समितिले कार्य समितिका पदाधिकारी तथा सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि, प्रदेश सभा र क्षेत्रीय कार्य समितिका सभापति, गाउँपालिका र नगरपालिकाका सभापति, भातृ तथा शुभेच्छुक सङ्घसंस्थाका प्रमुख र जिल्लाका सबै ६१ वडाका वडा सभापतिलाई भेलामा बोलाएको छ ।
भेलाले वडा, पालिका र प्रदेश÷क्षेत्रमा खटाइने निर्वाचन समितिको टुङ्गो लगाउने र अन्य विषयमा छलफल गर्ने सभापति तुम्याहाङले जानकारी दिए ।
वडा अधिवेशनपछि असोज ७ गते पालिका कार्य समिति, १० गते प्रदेश कार्यसमिति गठन गर्ने उल्लेख गरिएको छ ।
