भाद्र २८, २०८३
ताप्लेजुङ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन ताप्लेजुङका संस्थापक अध्यक्ष एवं कञ्चनजङ्घा बोर्डिङ इंङ्गलिस स्कुलका प्रिन्सिपल काजी पालुङवाको अन्येष्टि आइतबार मसाने घाटमा गरिने भएको छ ।
यो घाट फुङलिङ नगरपालिका ३ मा रहेको छ । मैवाखोला र तमोर नदी मिसिने स्थानमा अन्येष्टि गर्ने गरिएको परिवारका सदस्यले बताएका छन् । वाड्नं ३ का वडाध्यक्ष टङ्क पालुङवाका अनुसार बिहान १० वजे शव यात्रा प्रारम्भ गरी बहानन्दे पालुङवाचोक सिकारीडाँडा हान्द्रुङको ठोक्रे भएर मसानेघाट पुर्याइने छ ।
पालुङवाको शव आइतबार बिहान २ः३० वजे सदरमुकाम फुङलिङ स्थित निवासमा ल्याइ पुर्याइएको छ । फोक्सोमा भएको क्यान्सरका कारण डेढ वर्षदेखि राजधानी काठमाडौँको एक अस्पतालमा उपचार गराइरहेका पालुङवाको शनिबार बिहान १ वजे मृत्यु भएको हो ।
परिवारका अनुसार स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि पालुङवालाई शुक्रबार नै हेलिकप्टर बाट ताप्लेजुङ ल्याउने तयारी थियो । तर प्राविधिक कारणले शनिबार बिहान ल्याउने तयारी गरिएको भएपनि रातिनै निधन भयो ।
वाल सुवोधिनी संस्कृत माध्यमिक विद्यालयको अङ्ग्रेजी विषयको शिक्षक भएर शिक्षा क्षेत्रमा प्रवेश गरेका पालुङवाले निजी विद्यालय सञ्चालनमा ल्याएपछि त्यही कार्यरत रहेका थिए ।
पालुङवा प्याब्सनको दुई पटक केन्द्रीय सदस्य भएका थिए । २०२४ सालमा जन्मिएका पालुङवाको ६० वर्षको उमेरमा निधन भएको हो ।
