भाद्र २७, २०८३
ताप्लेजुङ – सदरमुकाम फुङ्लिङमा सञ्चालित प्रथम महिला खुला फुट्सल प्रतियोगिताको उपाधि वीरेन्द्र युवा क्लबले जितेको छ। शनिबार सम्पन्न प्रतियोगितामा आयोजक कुलकर्ण फुट्सल ३–१ ले पराजीत भयो ।
वीरेन्द्र युवा क्लबकालागि सृजना श्रेष्ठले दुई र सम्झना लिम्बूले एक गोल गरे। आयोजक टोलीकालागि अनुसा थाङ्देनले सान्त्वना गोल फर्काइन् । वीरेन्द्र युवा क्लबले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेताले १५ हजार रुपैयाँमा चित्त बुझाउनु पर्यो ।
प्रतियोगिताबाट उदयमान खेलाडी गोन्पा विद्यालयका जेनिला भोटिया, सर्वाधिक गोलकर्ता आयोजकका अनुशा लिम्बू, उत्कृष्ट गोलकिपर वीरेन्द्रका प्रनिता लिम्बू र जेष्ठ अनुभवी खेलाडीको अवार्ड आयोजककै बविता पोमुले पाए ।
बिजेताहरूलाई जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष अञ्जना कडरिया, सदस्य गीता पालुङवा, नापी कार्यालय ताप्लेजुङका प्रमुख रजिता श्रेष्ठ लगायतले नगद तथा पुरस्कार वितरण गरे । सुक्रबार प्रतियोगिताको उद्घाटन फुङलिङ नगरपालिका उपप्रमुख भिमादेवी ओझाले गरेकी थिइन् ।
हरितालिका तीजको अवसरमा आयोजित प्रतियोगितामा ताप्लेजुङका १७ र पाँचथरको एक गरी जम्मा १८ टिमको सहभागिता रहेको थियो। ताप्लेजुङ जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोग रहेको आयोजक समितिकाअध्यक्ष तेन्जी याङकी शेर्पा मादेनले जानकारी दिइन् ।एक महिनाअघि यही कुलकर्ण मैदानमा पहिलो पुरुष फुट्सल प्रतियोगिता सम्पन्न भएको थियो ।
